समाज

नेपाल र गिनी–बिसाउ गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र गिनी-बिसाउ गणतन्त्रबीच मंगलबार कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकहरूको संख्या १८४ पुगेको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि गिनी-बिसाउ गणतन्त्रका स्थायी प्रतिनिधि साम्बा सानेले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

सो अवसरमा दुवै राजदूतले दुवै देशको पारस्परिक लाभका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा, विशेषगरी संयुक्त राष्ट्रसंघमा, द्विपक्षीय सहयोगलाई सुदृढ गर्ने सम्बन्धमा साझा चासोका विभिन्न विषयमा विचार आदानप्रदान गरे।

गिनी-बिसाउ पश्चिम अफ्रिकामा अवस्थित एटलान्टिक महासागरको तटमा रहेको मुलुक हो। यसको उत्तरमा सेनेगल तथा दक्षिण र पूर्वमा गिनी रहेको छ। गिनी-बिसाउले १० सेप्टेम्बर १९७४ मा स्वतन्त्रता प्राप्त गरेको थियो र सोही वर्षको सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो। यसको कुल क्षेत्रफल ३६ हजार १२५ वर्ग किलोमिटर रहेको छ भने जनसंख्या २२ लाखभन्दा बढी रहेको छ।

नेपाल र गिनी-बिसाउ दुवै अति कम विकसित मुलुक (एलडिसिज) हुन्। दुवै मुलुक ७७ समूह तथा चीन (ग्रुप अफ ७७ एण्ड चाइना) साथै असंलग्न आन्दोलन (नन-एलाइन्ड मुभमेन्ट) का सदस्य हुन्।

प्रकाशित: १७ भाद्र २०८३ १२:०२ बुधबार