समाज

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपदबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य संयन्त्रलाई चुस्त बनाउँदै प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वयमा जोड दिएको छ।

मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश विपद् व्यवस्थापन परिषद्को सचिवालयका रूपमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकारीसँग प्रदेशको समग्र विपद् जोखिम, सम्भावित जोखिमयुक्त क्षेत्र, पूर्वतयारी तथा प्रतिकार्यका लागि सरकारको तयारीबारे जानकारी लिँदै विपद् व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।

उनले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले आवश्यक जनशक्ति, उद्धार सामग्री, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिए।

सम्भावित जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन तथा सूचना सङ्कलन गर्न र पूर्वसूचना प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन हुने गरी संयन्त्रलाई तयारी अवस्थामा राख्नुपर्नेमा उनले जाेड दिए।

विपद् प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रदेश, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन संयन्त्र र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको मुख्यमन्त्री भट्टले बताए।

विपद्का समयमा सम्बन्धित निकायबीच समन्वयको अभाव हुन नदिन सम्बन्धित मन्त्रालय तथा निकायलाई स्पष्ट भूमिका र जिम्मेवारीसहित सक्रिय रहन उनले आग्रह गरे।

उक्त मन्त्रालयका सचिव तेजप्रकाश जोशीले मुख्यमन्त्रीलाई प्रदेशमा विपद् जोखिम न्यूनीकरणका लागि अपनाइएका उपाय, आवश्यक स्रोतसाधन तथा विपद् प्रतिकार्य संयन्त्रको अवस्थाबारे जानकारी गराएका थिए।

प्रकाशित: ३१ श्रावण २०८३ १३:४० आइतबार