समाज

आर्मीको पोष्टमा लगिएको विद्युत प्रवाहबाट ‘रोनाल्डो’ हात्तीको मृ*त्यु

चितवन राष्ट्रिय निकुञ्जको बिसहजारी तालनजिक मृत अवस्थामा भेटिएको रोनाल्डो हात्ती करेन्ट लागेर मृत्यु भएको खुलेको छ। 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरका अनुसार नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट लाग्दा घटनास्थलमै हात्तीको मृत्यु भएको हो।  

‘आर्मीको वरण्डाभार पोष्टमा करिव १७ फिट माथिबाट विद्युतको कालो तार लागिएको थियो। त्यो तारलाई हात्तीले खाँदा करेन्ट लागेको देखिन्छ,’ सूचना ‘अधिकारी थापामगरले भने कालो तार हात्तीको मुखमा नै थियो।’ उनका अनुसार हात्ती सडकमा नै मरेको अवस्थामा फेला परेको हो। 

हात्ती हिजो राति मरेको उनको अनुमान छ। हात्ती मरेको स्थानबाट आर्मीको सुरक्षा पोष्ट सात सय मिटर टाढा रहेको छ। जंगली भाले हात्ती रोनाल्डो प्रजनन्का लागि उपयुक्त थियो।

निकुञ्ज प्रशासनका अनुसार सौराहामा रहेको हात्तीसारमा मात्र उसका ३३ वटा बच्चा छन्। ५३ वर्षिय रोनाल्डोका अझै ६ वटा हात्ती गर्भवती छन्। उसले २२ जनाको ज्यान समेत लिएको छ। यद्यपि पछिल्लो वर्ष रोनाल्डो शान्त थियो। सौराहाको हात्ती सार उस्कै कब्जामा रहेको थियो। 

अन्य जंगली भाले हात्तीलाई उसले आउन रोक लगाएको थियो। केही सातादेखि भने उसको स्थान ओगट्दै गोविन्दे हात्ती सौराहामा रहेको छ।  

यद्यपी गोविन्दे हात्ती रोनाल्डो जत्तिको प्रजननका लागि उपयुक्त नभएको हात्ती प्रजनन् केन्द्रका मनपुरण महत्तोले बताए। उनका अनुसार रोनाल्डो २४ वर्षदेखि निकुञ्जमा देखिँदै छ। 

हात्ती प्रजनन केन्द्र स्थापना भएपछि ७१ वटा बच्चा जन्मिएका छन्। त्यसमध्ये रोनाल्डोका मात्रै ३३ वटा रहेको उनले बताए। ‘अरु हात्तीले यति धेरै प्रजनन् कठिन कठिन छ,’ उनले भने ‘अहिले आएको गोविन्देले सक्दैनन्।’ 

प्रकाशित: ३ आश्विन २०८३ १४:३७ शनिबार