विनाशकारी बाढीका कारण विद्युत् संरचनामा ठूलो क्षति पुगेको रसुवामा विद्युत् सेवा पुनःस्थापनाका प्रयास तीव्र पारिएको छ।
प्रभावित क्षेत्रमा तत्काल विद्युत् आपूर्ति सहज बनाउन प्राथमिकताका साथ नुवाकोट-रसुवा विद्युत् अन्तरसम्बन्ध कायम गर्ने काम अघि बढाइएको छ।
भौगोलिक विकटता, क्षतिग्रस्त पूर्वाधार र प्रतिकूल मौसमका बाबजुद प्राविधिक टोलीले आवश्यक संरचना निर्माण तथा विद्युत् प्रसारण लाइन जडानको कामलाई निरन्तरता दिइरहेको छ। बाढीले क्षति पुर्याएका संरचनाहरूको प्राविधिक मूल्याङ्कनसँगै मर्मत तथा पुनर्निर्माणको कार्य समानान्तर रूपमा अगाडि बढाइएको छ।
प्रभावित क्षेत्रमा अस्पताल तथा सञ्चारलगायतका अत्यावश्यक सेवाहरू सञ्चालनमा ल्याउन वैकल्पिक व्यवस्थामार्फत विद्युत् पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ।
नियमित विद्युत् आपूर्ति पूर्ण रूपमा पुनःस्थापना नहुँदासम्म नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउन सम्बन्धित निकायहरूले विभिन्न विकल्पमा काम गरिरहेका छन्।
यसैबीच, प्रभावित बस्तीहरूमा खानेपानी तथा दैनिक जीवनका आधारभूत आवश्यकता पूरा गर्न रसुवाको खोलापारिको क्षेत्रबाट पानी ल्याउने कामसमेत अघि बढाइएको छ।
बाढीपछि अवरुद्ध विद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारहरू सकेसम्म छिटो सञ्चालनमा ल्याउने उद्देश्यका साथ प्राविधिक तथा सरकारी संयन्त्रका टोलीहरू चुनौतीपूर्ण अवस्थामा पनि कार्यक्षेत्रमै अहोरात्र खटिएका छन्।
प्रकाशित: १४ भाद्र २०८३ १८:०९ आइतबार