समाज

झापामा हात्ती धपाउन जोखिम मोलेर विद्युतीय घेराबारा

मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर घर र गोठ विद्युतीय तारले घेरेका छन्। तारको बीचबीचमा पोलिथिनका सेता झोला झुण्ड्याएका छन्। “गाउँमा हात्तीका हुल पस्छन्,” उनले भने, “परैबाट हात्ती तर्सियोस् भनेर वरिपरि तारको घेराबेरा गरेका हौं।”

उनले मात्र होइन, जंगलछेउका अधिकांश गाउँमा घरको सुरक्षाका लागि यस्तै तारबार लगाएको पाइन्छ।

काठ र बासका किलामा अड्याइएका असुरक्षित तारमा अधिकांश मानिसले रातभर विद्युत प्रवाह गरिदिएका हुन्छन्। बेलुका सुत्ने बेलामा करेन्ट प्रवाह गर्ने र विहानीपख उज्यालो भएपछि बन्द गर्ने सर्वसाधारणको प्रचलन छ।

विद्युत प्रवाह भएको तारसँग हात्ती डराउने स्थानीयबासीको विश्वास छ। हात्ती धपाउन प्रयोग भएको विद्युतीय तारमा झुक्किएर जनधनको समेत क्षति हुने गरेको छ। “राति प्रवाह गरेको विद्युतको स्वीच अफ गर्न बिर्सदा गाउँघरमा मानिस नै दुर्घटनामा नपरेका होइनन्,” उनी भन्छन् “हात्ती आइहाल्छ, धपाउने अरू उपाय नहुँदा किसानहरू जोखिम मोलेर भए पनि करेन्ट लगाउन बाध्य भएका हुन्।”

स्थानीयले तारमा करेन्ट नलगाई पोलिथिनका झोला झुण्ड्याउने उपाय पनि लगाएका छन्। तारमा सेता झोला लहरै झुण्ड्याउँदा करेन्ट लगाएको ठानेर हात्ती घर र बारीतिर नपस्ने विश्वास रहेको चिमरिया बताउँछन् तर बुद्धिमानी मानिएको हात्तीले स्थानीयबासीको हरेक अवरोध पार गर्न जुक्ति लगाउने गरेको छ। नजिकैको सुकेको रुखको दाउरा वा काँचो हाँगो भाँचेर करेन्ट प्रवाह भएको तार भुइँमा लतार्ने नयाँ जुक्ति हात्तीले लगाउँदै आएको चिमरियाले बताए। एकपटक करेन्टको झड्का लागेको स्थानमा हात्ती दोहोर्याएर नआउने हुँदा सर्वसाधारणले यही विद्युतीय असुरक्षित घेराबेराको सहारा लिदै आएका छन्।

मेचीनगर नगरपालिका–४ की ६८ वर्षीया नरमाया कोइरालाले तीन हात्तीको हुलले घर भत्काएर भताभुङ्ग बनाएको बताइन्। घर भत्किएपछि हात्तीबाट असुरक्षित भएको पीडा वडाध्यक्ष अर्जुन कार्कीलाई सुनाउन उनी वडा कार्यालयसम्म पुगिन्।

भारतबाट सीमा पार गरेर आउने हात्ती समेतको विचरणस्थल बनेको झापामा मानव–हात्ती द्वन्द्वका क्रममा डेढ दशकमा ७२ जनाको हात्ती आक्रमणमा मृत्यु भएको छ भने २५ हात्ती मारिएका छन्।

हात्ती धपाउन बिछ्याइएको विद्युतीय तारमा परेर सर्वसाधारण, हात्ती र गाईवस्तु मारिने गरेका छन् तर विद्युतीय तारमा परेर मरेका व्यक्ति र हात्तीको यकिन तथ्यांक राखेको पाइएको छैन।

मानव–हात्ती द्वन्द्वको विषयमा जानकार गोविन्द न्यौपानेले सुरक्षाका लागि भन्दै विद्युतीय तार बिछ्याउनु एकदमै जोखिमपूर्ण रहेको बताए। यसबाट मानवीय क्षति समेत भइरहेको उनले बताए। “हात्ती प्रभावित बाहुनडाँगीमा अहिलेचाहिँ यस्तो तार बिछ्याउने गतिविधि हट्यो,” उनले भने, “विगतमा धेरै मानिस र हात्तीले घर वरिपरि बिछ्याइएको विद्युतीय तारमा करेन्ट लागेर अनाहकमा ज्यान गुमाएका छन्।”

झापाको जंगल छेउछाउका बासिन्दाले तार या डोरीमा प्लास्टिकका पोकापोकी राखेर हात्ती तर्साउने गरेको जनाउँदै यसबाट पनि हात्ती नियन्त्रण प्रभावकारी नभएको उनको धारणा छ।

“करेन्ट लगाएको ठानेर हात्ती तर्सेला भन्ने सर्वसाधारणको भ्रम मात्र हो यो,” उनले भने “दशकौंदेखि मानिससँग संघर्ष गर्दै आएको हात्तीले कहाँ करेन्ट छ र छैन भन्ने सजिलै थाहा पाउँछ। मनको सन्तोष मात्र हो यो।”

जोखिम निम्त्याउने गरी गाउँभरि बिछ्याइएका विद्युतीय तारबारे डिभिजन बन कार्यालय, जनप्रतिनिधि र संरक्षणकर्मीहरू बेखबर छैनन्। तर, हात्तीबाट जोगिने दीर्घकालीन उपाय कसैले दिन नसकेका कारण यसलाई निरुत्साहित गर्न कुनै निकायले सकेका छैनन्। “मानिसहरू आफू बाँच्न र आफ्नो धनसम्पत्ति जोगाउन जोखिम मोल्न बाध्य छन्,” न्यौपाने भन्छन्, “यस्तो कार्यलाई निरुत्साहित गर्ने काम सरकारी निकायको हो। चेतना पनि जगाउन आवश्यक छ तर दीर्घकालीन रूपमा समाधान दिन नसक्नेहरू गाउँमा गएर घेराबारा नगर भन्नै सक्दैनन्।” 

डिभिजन बन कार्यालय झापाका सूचना अधिकारी अमृतबहादुर लिम्बुले सीमा क्षेत्र र जंगल बाहिर हात्ती छेक्न सरकारले नै विद्युतीय घेराबारा गरेको जनाउँदै निजी घरमा तार बिछ्याएर घेराबारा गर्ने कार्य बारे कुनै जानकारी नभएको बताए।

प्रकाशित: ५ भाद्र २०८२ १२:२७ बिहीबार