समाज

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन्।

आज दिउँसो गोडैता नगरपालिका–१ बहादुरपुरका ७० वर्षीय छित्नु साह खोलामा डुबेर बेपत्ता भएका हुन्।

उनलाई लखन्देही सोती खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार छिमेकीको दाहसंस्कारमा सामेल साह नुहाउन खोलामा पसेपछि बेपत्ता भएका हुन्।

लगातारको बर्सात्का कारण खोलामा पानीको सतह बढेकाले वृद्ध बेपत्ता भएका हुन्।

उनको खोजी कार्यमा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए। 

प्रकाशित: १२ आश्विन २०८३ १७:५२ सोमबार