सिरहाको गोलबजारमा ट्रकले किच्दा एक वृद्धको ज्यान गएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको ना १ क ९२२८ नम्बरको बालुवा बोकेको ट्रकले किच्दा अपरिचित वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार बिहान भएको उक्त दुर्घटनाको मुख्य कारण सडकमै अव्यवस्थित रूपमा लाग्ने हाटबजार रहेको स्थानीयको आरोप छ।
भीडभाड रहेको सडक पेटीमा हिँडिरहेका वृद्धलाई ट्रकले सामान्य रूपमा छोएपछि उनी लड्न पुगेका थिए। एक प्रत्यक्षदर्शीका अनुसार, ‘उनी पेटीमा हिँडिरहेका थिए, ट्रकले ठक्कर दिएपछि भित्रपट्टि लडे र पछाडिको चक्काले किच्यो।’
मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
स्थानीयका अनुसार गोलबजारमा प्रत्येक शनिबार र मंगलबार सडकमै लाग्ने अव्यवस्थित हाटबजारका कारण यस्ता दुर्घटना पटक-पटक हुँदै आएका छन्। स्थानीय धनेश्वर यादवले भने, ‘स्थानीय सरकार, प्रहरी प्रशासन र ट्राफिक व्यवस्थापनको कमजोरीका कारण यस्तो घटना दोहोरिएको हो। थोक तथा खुद्रा व्यापारीहरूले सडक कब्जा गर्दा जोखिम बढेको छ।’
नगरपालिकाले बजार व्यवस्थापनका लागि लाखौँ रूपैयाँ खर्च गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो छ। व्यवसायी, किसान र सरोकारवालाबीच समन्वय अभावका कारण बजार अझै व्यवस्थित हुन सकेको छैन।
हाल गोलबजार क्षेत्रमा थोक तरकारी व्यवसायीहरूले सडकमै ट्रक तेर्साएर सामान बेच्ने गरेका छन्, जसले सडक आवागमनमा थप अवरोध सिर्जना गर्दै दुर्घटनाको जोखिम बढाइरहेको छ।
प्रकाशित: १५ वैशाख २०८३ १३:३१ मंगलबार