समाज

फेदीवन जङ्गलमा आठ थान इजाजत नभएका बन्दुक भेटियो

फाइल तस्बिर

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको फेदीवन जङ्गलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ।

अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जङ्गलमा लुकाएर राखेको अवस्थामा आठ थान एकनाले भरुवा बन्दुक बरामद गरेको हो।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाले वन्यजन्तुको अवैध चोरी–सिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियानअन्तर्गत बन्दुक बरामद गरेर बेनी ल्याइएको जानकारी दिए।

विसं २०८२ मङ्सिर १५ गतेदेखि सुरु भएको ‘ब्राबोसेरा’ अभियानमार्फत हालसम्म १५० थान इजाजत नभएका बन्दुक बरामद भएको उहाँले जानकारी दिए। ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनमा वन्यजन्तुको चोरी–सिकारीका साथै आपसी विवाद र झैझगडामा प्रयोग हुने जोखिम भएकाले अवैध बन्दुक बरामद गर्ने अभियान चलाएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।

अवैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ। स्थानीयवासीको सूचना तथा सहयोग समेतमा जङ्गल, रूखका टोड्का, खोल्सा, मासिन नबस्ने घर गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गरिएको हो।  

प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने व्यवस्था छ। प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र रु ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। अवैध बन्दुक बरामद गर्ने अभियान जारी राख्ने र त्यस्ता बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले अनुरोध गरेको छ। रासस

प्रकाशित: २८ जेष्ठ २०८३ ०६:३५ बिहीबार