रौतहटको चन्द्रपुर नगरपालिका ४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्। दुर्घटनापछि एक बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ जाँदै गरेको म प्र ०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा प्र ०३–००१ ख ५२८४ र बा प्र ०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको थियो। ठक्करको प्रभावले बा प्र ०३–००१ ख ३६६० नम्बरको बस सडकमै पल्टिएको थियो।
दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम नगरपालिका ९ का अन्दाजी ६० वर्षीय लालबहादुर तामाङ, बस चालक हेटौँडा उपमहानगरपालिकाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का, इनरुवा नगरपालिका–२ की ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङको सुन्दरहरैँचा नगरपालिका ५ का ४६ वर्षीया रितु वर्ण कार्की, ४४ वर्षीय मेघराज कार्की, इटहरी उपमहानगरपालिकाका ३२ वर्षीय सफल मगर तथा सुन्दरहरैँचा–५ कै ५४ वर्षीया दिलमाया कार्की घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। इटहरीका सफल मगरको प्रारम्भिक उपचार चन्द्रपुरस्थित सिमन्त हाईवे अस्पतालमा गरिएको भए पनि उनी उपचारकै क्रममा आफैँ अस्पतालबाट हिँडेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी अन्दाजी ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरेको प्रारम्भिक परीक्षणबाट पुष्टि भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: २ श्रावण २०८३ १४:०२ शनिबार