परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्ने बताएका छन्।
विदेश नीतिलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा मात्र सीमित नराखी व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनाजस्ता आर्थिक प्राथमिकता हासिल गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उनले बताए।
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइया) द्वारा आज आयोजित ‘समृद्ध नेपालका लागि आर्थिक कूटनीतिः आर्थिक हितसँग विदेश नीतिको सामञ्जस्य’ विषयमा परराष्ट्रमन्त्री खनालले प्रस्तुति दिए।
परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए।
उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
मन्त्री खनालका अनुसार बदलिँदो विश्व अर्थव्यवस्था, क्षेत्रीय प्रतिस्पर्धा र भू–राजनीतिक परिस्थितिका बीच नेपालले आफ्नो कूटनीतिक सम्बन्धलाई आर्थिक अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ।
त्यसका लागि विदेशस्थित नेपाली नियोगहरूलाई व्यापार, लगानी र आर्थिक सहकार्यका सक्रिय प्रवर्द्धकका रूपमा परिचालन गर्न आवश्यक रहेको उनले बताए।
मन्त्री खनालले आर्थिक कूटनीति सरकारको एउटा मन्त्रालय वा निकायको मात्र जिम्मेवारी नभई राज्यका सबै निकाय, निजी क्षेत्र, उद्यमी, व्यवसायी र प्रवासी नेपाली समुदायको साझा प्रयासबाट अघि बढाउनुपर्ने उल्लेख गरे।
आर्थिक कूटनीतिमा स्पष्ट राष्ट्रिय प्राथमिकता, संस्थागत समन्वय र परिणाममुखी कार्यशैली आवश्यक रहेको उनको भनाइ थियो।
परराष्ट्रमन्त्री खनालले नेपालको आर्थिक हितअनुकूल अन्तरराष्ट्रिय सम्बन्ध सञ्चालन गर्न स्पष्ट दृष्टिकोण र समन्वित कार्ययोजना आवश्यक रहेको बताए।
‘विदेश नीति निर्माण र कार्यान्वयनमा आर्थिक पक्षलाई प्राथमिकताका साथ समेट्दै कूटनीतिक उपलब्धिलाई ठोस आर्थिक परिणामसँग जोड्नुपर्छ,’ उनले भने।
यसका लागि सम्बन्धित सरकारी निकायबीच सहकार्य, निजी क्षेत्रसँग नियमित संवाद र विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको उनले बताए।
उनले नेपालको निर्यात क्षमता विस्तार र अन्तरराष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच बढाउन पनि आर्थिक कूटनीति उपयोगी हुनुपर्ने बताए।
नेपाली वस्तु तथा सेवाको बजार पहिचान, व्यापारिक सम्बन्ध विस्तार र आर्थिक साझेदारी विकासमा विदेशस्थित नियोगहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
नेपालको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै पर्यटक आगमन वृद्धि गर्न कूटनीतिक माध्यमको प्रभावकारी उपयोग गर्नुपर्ने उनले बताए।
मन्त्री खनालले पर्यटन क्षेत्रको विकासले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई गति दिन सक्ने भएकाले यसलाई राष्ट्रिय आर्थिक प्राथमिकतासँग जोड्नुपर्ने बताए।
उनका अनुसार आर्थिक कूटनीतिले वैदेशिक सहायता र लगानी परिचालनमा मात्र नभई ज्ञान, सीप, प्रविधि तथा नवप्रवर्तनको आदानप्रदानमा समेत योगदान पुर्याउन सक्छ।
अन्तर्राष्ट्रिय साझेदारीमार्फत नेपालको उत्पादन क्षमता अभिवृद्धि गर्ने र विश्वव्यापी मूल्य शृङ्खलामा सहभागिता बढाउने अवसरको खोजी गर्नुपर्नेमा उनले जोड दिए।
परराष्ट्रमन्त्री खनालले नेपालको आर्थिक हितअनुकूल अन्तरराष्ट्रिय सम्बन्ध सञ्चालन गर्न स्पष्ट दृष्टिकोण र समन्वित कार्ययोजना आवश्यक रहेको बताए।
विदेश नीति निर्माण र कार्यान्वयनमा आर्थिक पक्षलाई प्राथमिकताका साथ समेट्दै कूटनीतिक उपलब्धिलाई ठोस आर्थिक परिणामसँग जोड्नुपर्ने उनको भनाइ थियो।
प्रकाशित: १६ आश्विन २०८३ २०:२३ शुक्रबार