धनुषाको ढल्केबरमा नै ट्रमा सेन्टर बनाउन माग गर्दै ढल्केबरमा आन्दोलन भएको छ। ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा सोमबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध पार्दै उनीहरुले विरोध गरेका हुन्।
समितिको आह्वानमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले बिहान ११ बजेदेखि ११ः ३० बजेसम्म राजमार्ग अवरुद्ध गरेका हुन्। उनीहरुले सडकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।
यस्तै समितिले मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म र २७ गते बिहान ११ बजेदेखि १ बजेसम्म चक्काजामको घोषणा गरेको छ।
बुधबार प्रतिनिधि सभामा स्वास्थ्यमन्त्री निशा मेहताले ट्रमा सेन्टर लाहानमा बन्ने जानकारी दिएकी थिइन्।
यसपछि प्रस्तावित ठाउँमै ट्रमा सेन्टर बन्नुपर्ने माग राख्दै उनीहरुले आन्दोलन गरेका हुन्। संघर्ष समितिले आफ्ना मागहरूतर्फ सरकार गम्भीर नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ।
प्रकाशित: २५ श्रावण २०८३ १३:२९ सोमबार