सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुन्डिने युवा बिग्रिन्छन्।’
फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ। तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ घोचेखोलाका युवा नेत्रप्रसाद भुसाल।
भुसाल आज केवल सामाजिक सञ्जालमा चर्चित अनुहार होइनन्। युट्युब, फेसबुक र टिकटकलाई आफ्नो कर्मथलो बनाएका उनले यही माध्यमबाट राम्रो आम्दानीसँगै देश-विदेशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। टिकटकमा उनलाई ‘टिकटक स्टार नेत्र भुसाल’ भनेर चिनाउँछन्।
युट्युबमा उनका लाखौँ ‘सब्सक्राइबर’ छन् भने फेसबुकमा दुई लाख ५० हजारभन्दा बढी फलोअर रहेको उनी बताउँछन्। टिकटकमा भने करिब २० लाख ‘फलोअर’ छन्। सामाजिक सञ्जालमा बनाएको यही ठुलो दर्शक सञ्जाल अहिले उनको आर्थिक सफलताको आधार बनेको छ।
किशोरावस्थामै बाबुको निधन भएपछि उनको परिवारमा आर्थिक सङ्कट थपियो। बाबुको मृत्यु भएपछि घरको जिम्मेवारी र भविष्यको चिन्ताले नेत्रलाई पनि छोयो। पढाइ कसरी अघि बढाउने? भाइबहिनीको शिक्षालाई कसरी निरन्तरता दिने? परिवारको आर्थिक अवस्था कसरी सुधार्ने? यस्ता प्रश्न उनका अगाडि उभिए तर समस्याले उनलाई रोक्न सकेन।
एसइई दिएपछि पाएको करिब तीन महिनाको समयलाई सदुपयोग गर्दै उनले युट्युब च्यानल सुरु गरे। अरूले मनोरञ्जनका रूपमा प्रयोग गरिरहेको इन्टरनेट र सामाजिक सञ्जाललाई उनले सम्भावनाको रूपमा हेर्न थाले। ‘सामाजिक सञ्जालबाट पनि आम्दानी गर्न सकिन्छ’ भन्ने कुरा बुझेपछि उनी त्यसतर्फ अझै गम्भीर भएर लागे।
सामाजिक सञ्जालमा नेत्रको यात्रा टिकटकबाट मात्र सुरु भएको होइन। उनी सुरुमा युट्युबमा टेकसम्बन्धी सामग्री र ब्लगिङ गर्न थाले। युट्युबका विभिन्न क्रियटरबाट प्रभावित भएर उनले टेक र ब्लगिङ च्यानल सुरु गरेको बताउँछन्। सुरुआती दिनमा दर्शक कम थिए, मेहनतअनुसारको परिणाम पनि तत्काल देखिएन तर पनि उनले निरन्तरता दिन छाडेनन्।
युट्युब च्यानल ‘मनिटाइज’ भएपछि पहिलोपटक आम्दानी हात पर्दा आफू निकै खुसी भएको उनी सम्झन्छन्। त्यसपछि सामाजिक सञ्जाललाई केवल रुचिको विषय नभई व्यावसायिक सम्भावनाको क्षेत्रका रूपमा बुझ्न थाले। फेसबुकमा पनि सक्रियता बढाए। त्यसपछि टिकटकमा प्रवेश गरे। छोटा भिडियो, लाइभ स्ट्रिमिङ र दर्शकसँगको प्रत्यक्ष संवादले उनको लोकप्रियता बिस्तारै बढाउँदै लग्यो।
सन् २०१९ बाट उनले टिकटकमा नियमित लाइभ बस्न थाले। सुरुमा प्रयोगका रूपमा सुरु भएको लाइभ स्ट्रिमिङपछि उनको आम्दानीको महत्त्वपूर्ण माध्यम बन्यो। टिकटक लाइभमा दर्शकले पठाउने डिजिटल गिफ्ट नै आफ्नो मुख्य आम्दानीको स्रोत रहेको नेत्र बताउँछन्।
उनका अनुसार अहिले मासिक रूपमा करिब पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। अहिलेसम्म सामाजिक सञ्जालबाट करिब सात करोड रुपैयाँको हाराहारीमा आम्दानी गरेको उनको दाबी छ। ‘लाइभमा बसेर दर्शकसँग जोडिन्छु। दर्शकले दिने गिफ्ट नै मेरो मुख्य आम्दानीको स्रोत हो,’ उनी भन्छन्, ‘सामाजिक सञ्जाललाई सही ढंगले प्रयोग गर्न सक्ने हो भने यसबाट राम्रो आम्दानी गर्न सकिन्छ।’ दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म गरी करिब चार घण्टा उनी टिकटक लाइभमा बस्ने गर्छन्। नियमित लाइभ होस्टिङका कारण उनी टिकटकको लोकप्रिय ‘लाइभ होस्ट’का रूपमा स्थापित भएका छन्।
कुनै समय परिवारको आर्थिक अवस्था कसरी सुधार गर्ने भन्ने चिन्तामा रहेका नेत्र अहिले आफ्नै कमाइबाट भौतिक रूपमा पनि स्थापित भएका छन्। सन्धिखर्कमा आकर्षक डिजाइनको घर निर्माण गरेका उनले आवतजावतका लागि गाडीसमेत किनेका छन्। केही महिनाअघि काठमाडौंको बुढानीलकण्ठमा करिब चार करोड रुपैयाँमा घर खरिद गरेको पनि उनी बताउँछन् तर उनी आफ्नो सफलतालाई घर, गाडी र पैसामा मात्र सीमित गर्न चाहँदैनन्।
उनका लागि सामाजिक सञ्जालले आर्थिक आम्दानीसँगै नाम, सम्मान र पहिचान पनि दिएको छ। ‘सोसल मिडियाले पैसा मात्र दिएको छैन, इज्जत, सम्मान र नाम पनि दिएको छ,’ उनी भन्छन्, ‘देश तथा विदेशमा करोडौँ दर्शकसँग जोडिन पाएको छु। त्यसैले यसलाई अझै निरन्तरता दिनेछु।’
नेत्रले सामाजिक सञ्जालबाट प्राप्त आम्दानीलाई व्यक्तिगत जीवनमा मात्र प्रयोग गरेका छैनन्, विभिन्न सामाजिक तथा मानवीय काममा सहयोग गर्दै आएका छन्। दीन दुःखी, बिरामी तथा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै आएका उनले हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका लागि करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका थिए। सामाजिक सञ्जालबाट कमाएको पैसाको केही हिस्सा सामाजिक सेवामा लगाउन पाउँदा आफूलाई थप सन्तुष्टि मिल्ने उनी बताउँछन्। नेत्रको परिचय टिकटक लाइभ होस्टमा मात्र सीमित छैन, उनले विभिन्न गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन्।
युट्युबबाट सुरु भएको उनको डिजिटल यात्रा अहिले विभिन्न सामाजिक सञ्जालका फरक-फरक प्लेटफर्मसम्म फैलिएको छ। युट्युबमा ब्लगिङ र टेक सामग्री, फेसबुकमा विभिन्न सामग्री तथा टिकटकमा छोटा भिडियो र लाइभमार्फत उनले फरक-फरक दर्शकसँग सम्बन्ध स्थापित गरेका छन्। यसले उनलाई एउटा प्लेटफर्ममा निर्भर नभई डिजिटल दुनियाँका विभिन्न माध्यममा स्थापित हुन सहयोग गरेको छ।
सामाजिक सञ्जालको दुरुपयोगले समस्या निम्त्याउन सक्छ तर त्यसैलाई सिर्जनात्मक र व्यावसायिक रूपमा प्रयोग गर्ने हो भने यही माध्यम अवसरको ढोका बन्न सक्छ भन्ने नेत्रको जीवनले देखाएको छ। उनको सफलताले सामाजिक सञ्जाललाई लिएर समाजमा रहेको नकारात्मक बुझाइलाई एउटा प्रश्नसमेत गरेको छ, दोष सामाजिक सञ्जालमा हो कि त्यसको प्रयोग गर्ने तरिकामा?
नेत्रको अनुभवमा सामाजिक सञ्जाललाई समय बिताउने साधनका रूपमा मात्र होइन, सिक्ने, सिर्जना गर्ने, दर्शकसँग जोडिने र आम्दानी गर्ने माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ। आज उनको मोबाइलको स्क्रिनमा देखिने लाखौँ दर्शक केवल संख्या होइनन्। ती दर्शक उनको वर्षौँको मेहनत, निरन्तरता र डिजिटल यात्राका साक्षी हुन्।
अर्घाखाँचीको एउटा सामान्य परिवारबाट डिजिटल दुनियाँमा उदाएका नेत्र भुसालको कथा अहिलेका युवाका लागि एउटा सन्देश पनि हो, सामाजिक सञ्जालमा कति समय बिताइयो भन्नेभन्दा त्यसलाई कसरी प्रयोग गरियो भन्ने कुराले भविष्य निर्धारण गर्न सक्छ।
मोबाइलको स्क्रिनमा औँला चलाएर सुरु भएको उनको यात्रा आज घर, गाडी, करोडौँको आम्दानी र सामाजिक पहिचानसम्म पुगेको छ। त्यसैले सामाजिक सञ्जाल युवालाई बिगार्ने माध्यम मात्र हो भन्ने भाष्यका बिच नेत्रको कथा एउटा फरक उदाहरण बनेको छ, सही सोच, निरन्तर मेहनत र सिर्जनात्मक प्रयोग भयो भने सामाजिक सञ्जाल पनि भविष्य निर्माण गर्ने माध्यम बन्न सक्छ। प्रेमनारायण आचार्य/रासस
प्रकाशित: ५ कार्तिक २०८३ १६:२३ बिहीबार