समाज

कोहलपुर पोलिक्लिनिक प्रकरण: विवादमा परेका स्वास्थ्यकर्मीविरुद्ध बलात्कार मुद्दा

बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि आएकी २२ वर्षीया युवतीको संवेदनशील अङ्ग छोएको आरोपमा स्वास्थ्यकर्मी गणेशबहादुर थापा पक्राउ परेका छन्।

६३ वर्षीय थापामाथि जबर्जस्ती करणीको कसुरमा जिल्ला अदालत बाँकेबाट सात दिनको म्याद थप गरी प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।

कोहलपुर नगरपालिका-११ रेडक्रस रोडमा सञ्चालित क्लिनिकमा गत असोज १७ गते स्वास्थ्य परीक्षणका बहानामा जबर्जस्ती संवेदनशील अङ्गमा हात हालेर यौनजन्य दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

घटनापछि बिरामीका आफन्त र स्थानीयले क्लिनिकमै पुगेर सञ्चालक थापामाथि हातपात गरेका थिए। सामाजिक सञ्जालमा कुटपिट तथा विवादको भिडिओ भाइरल भएपछि घटना सतहमा आएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौरका अनुसार पीडित पक्षबाट जबर्जस्ती करणीसम्बन्धी कसुरमा असोज १८ गते जाहेरी दर्ता भएको हो।

पीडितको जाहेरी र सामाजिक सञ्जालमा सार्वजनिक भिडिओका आधारमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।

कानुनतः महिलाको सहमतिविना यौनाङ्गमा पुरुषले शरीरको कुनै अङ्ग वा अन्य वस्तु छिराएमा बलात्कार मानिने व्यवस्था छ। प्रहरीमा दर्ता भएको जाहेरीमा थापा मेडिकलका सञ्चालकसँग उपचारको इजाजत नभएको तथा नेपाल मेडिकल काउन्सिलको ‘कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट २०१७’ विपरीत सीएमए अध्ययन गरेका व्यक्तिले एकल रूपमा जाँच गरेको उल्लेख छ।

काउन्सिलको आचारसंहिताअनुसार स्वास्थ्यकर्मी वा चिकित्सकले महिला बिरामीको संवेदनशील अङ्गको परीक्षण गर्दा अनिवार्य रूपमा महिला संरक्षक वा कुरुवाको उपस्थिति गराउनुपर्ने हुन्छ। थापाले उक्त नियम उल्लङ्घन गरेको विषयमा पनि प्रहरीले छानबिन थालेको छ।

घटना अनुसार पेट दुख्ने र सेतो पानी बग्ने समस्या भएपछि उपचारका लागि पोलिक्लिनिक पुगेकी युवती सुरुमा शुल्क तिरेर सहजरूपमा फर्किएकी थिइन्। त्यसको आधा घण्टापछि अभिभावक र केही सञ्चारकर्मीसहित क्लिनिक पुगेकी एक महिलाले थापामाथि हातपात गरेकी थिइन्।

ती महिला पीडित भनिएकी युवतीकी रोजगारदाता हुन्। उनले चार वर्षअघि आफूलाई पनि थापाले यसैगरी दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

आरोपित थापाले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। बिरामी स्वयंले तल्लो पेट दुख्ने, गानोगोला भएको र सेतो पानी बग्ने समस्या बताएकाले उनकै आग्रहमा शारीरिक परीक्षण मात्र गरेको र आफ्नो कुनै खराब नियत नरहेको दाबी उनले गरेका छन्।

प्रहरीले सार्वजनिक भएका दृश्य, दुवै पक्षको बयान र प्रमाणका आधारमा घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १९ आश्विन २०८३ १९:१४ सोमबार