समाज

बीपी राजमार्गमा आज र भोलि राति गाडी चलाउन रोक

फाइल।

भारी वर्षाको पूर्वानुमानसँगै बाढीपहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र सिन्धुलीले बीपी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएका छन्।

दुवै जिल्ला प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै बिहीबार र शुक्रबार राति राजमार्गमा सवारी चलाउन निषेध गरेका हुन्।

काभ्रे प्रशासनले जारी गरेको सूचनाअनुसार कार्तिक १३ गते बिहीबार साँझ ५ बजेदेखि कार्तिक १४ गते शुक्रबार बिहान ६ बजेसम्मका लागि काभ्रे भञ्ज्याङ-भकुण्डेबेसी हुँदै सिन्धुली जाने सडक खण्डमा यातायात आवतजावतमा रोक लगाइएको छ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि कार्तिक १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारी साधनको आवागमनमा रोक लगाएको जनाएको छ।

यद्यपि, एम्बुलेन्स र अन्य अत्यावश्यक सेवाका सवारी साधनलाई भने सञ्चालनमा रोक लगाइने छैन।

जल तथा मौसम विज्ञान विभागले कार्तिक १३ देखि १५ गतेसम्म बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र त्यसबाट सिन्धुली र काभ्रे जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेको चेतावनी दिएपछि पूर्वसतर्कता अपनाइएको हो।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ र सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा जारी विज्ञप्तिमा सम्भावित मानवीय र भौतिक क्षति हुन नदिन यो निर्णय लिइएको उल्लेख छ।

प्रशासनले वर्षातको अवस्था हेरी दिउँसोको समयमा पनि स्थानीय तथा ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्ने जनाएको छ।

साथै, नागरिकहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, विशेषगरी रातको समयमा यात्रा नगर्न र नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

दुवै जिल्लाका विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

सडक डिभिजनलाई बीपी र अरनिको राजमार्गमा तत्काल परिचालन हुने गरी डोजर, एस्काभेटरलगायतका उपकरणहरू तयारी अवस्थामा राख्न पनि भनिएको छ।

प्रकाशित: १३ कार्तिक २०८२ १५:४२ बिहीबार