समाज

नागरिकता नम्बरका आधारमा हर्कको लाइसेन्स भेटिएन: यातायात कार्यालय

दुई साताअघि दुर्घटनामा परेका श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भए/नभएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कोशी प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले उनको लाइसेन्सबारे अनुसन्धान गर्दा अहिलेसम्म फेला पार्न सकेको छैन ।

साम्पाङ जेठ २२ गते उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका थिए । त्यतिबेला लापरबाहीपूर्ण ढंगले मोटरसाइकल चलाएको खुलेपछि लाइसेन्सबारे अनुसन्धान गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले जनाएको हो ।

“अहिलेसम्म लाइसेन्स भएको प्रमाण फेला पर्न सकेको छैन,” ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी दीपक गिरीले भने, “माननीयसँग लाइसेन्स नभए त्यसमा जरिवाना लिइनेछ ।”

लाइसेन्स भए/नभएको यकिन गर्न प्रहरीले यातायात कार्यालय, कोशीको लाइसेन्स विभागमा पत्राचार गरेर रेकर्ड हेर्दा पनि फेला पर्न सकेको छैन । लाइसेन्सबिना सवारी चलाउनु गैरकानुनी मानिन्छ ।

यातायात कार्यालय, लाइसेन्स विभागका प्रमुख निर्मल मानन्धरका अनुसार हर्कबहादुर राईको हालको नागरिकता नम्बरका आधारमा लाइसेन्स जाँच गर्दा कुनै विवरण फेला परेको छैन ।

“उहाँको बाबुको नाम तिलबहादुर राई र छोरा (हर्कबहादुर राई) उल्लेख भएको एउटा लाइसेन्स लिएको देखिए तापनि नागरिकता नम्बर भने मिल्दैन, जसले गर्दा उहाँले अहिलेसम्म लाइसेन्स लिएको देखिँदैन,” मानन्धरले भने ।

यातायात कार्यालयको अहिलेको डिजिटल प्रणालीमा रेकर्ड नभेटिएको उनले बताए । पुरानो कागजी ढड्डा रेकर्ड भने भदौ २३ र २४ गते भएको जनजीविका आन्दोलनका क्रममा आगजनी हुँदा जलेर नष्ट भइसकेको छ ।

साम्पाङ बागमती प्रदेश ०२–६० प ०२५९ नम्बरको मोटरसाइकल हेल्मेटबिना लापरबाहीपूर्वक चलाउँदा दुर्घटनामा परेका थिए । त्यसपछि उनलाई ट्राफिक प्रहरीले जरिवाना तिराउने निर्णय गरेको थियो ।

निर्णयबमोजिम राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौंलाई जरिवाना लिनका लागि रसिद पठाएको छ । इटहरीका प्रमुख एसपी गिरीले भने, “माननीय घटना भएको भोलिपल्टै काठमाडौं गएको जानकारी पाएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रसिद पठाएका छौं ।”

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । त्यसअघि उनी धरान उपमहानगरपालिकाका प्रमुख थिए ।

प्रकाशित: ४ असार २०८३ १८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App