काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भएका २५ वर्षीय अवी श्रेष्ठ रहेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार चक्रपथबाट हात्तीगौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उद्धार गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १५ पुस २०८२ १५:३२ मंगलबार