समाज

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

पानीको समस्या भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बुधबार जनकपुरधामबाट नेपाली सेनालाई जिम्मा लगाई ८ वटा बारुण यन्त्र पर्सा पठाउँदै । तस्बिर: रासस

वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको सङ्कट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ।  

प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू  क्रियाशील रहेको बताए। खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबीसै घण्टा परिचालित गरिने जानकारी दिँदै उनले  वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने बताए।  

साथै सेनाले आफूसँग भएका सातवटा ट्याङ्करबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको जनाइएको छ । यसअघि वन विभागले तीनवटा ट्याङ्करमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो। रासस

प्रकाशित: ३२ असार २०८२ ११:०४ बुधबार

#Nagariknews #water ##NepaliNews