सिँचाइको अभावको समस्या छँदै गर्दा सप्तरीमा खानेपानीको समस्या भएको छ। जिल्लाको उत्तरी, पश्चिमी भेग र दक्षिण क्षेत्रमा यस्तो समस्या आएको हो। मधेस प्रदेशको हरेक जिल्लामा अहिले अत्यधिक गर्मी र समयमा वर्षा नभएका कारण चापाकलमा पानी सुक्न थालेपछि खानेपानीको अभाव भएको छ।
सुक्खा जमिनका कारण ट्युबवेलमा पानी आउन कम भएकाले खानेपानीको समस्या भएको खडक नगरपालिका–५ खोजपुरका महेन्द्र ठाकुरले बताए। उनले भने, ‘यस भेगमा विगत डेढ-दुई महिनादेखि खानेपानीको समस्या भोग्नु परेको छ, डिप बोरिङबाट पनि पानी आएको छैन।’
उनले चुरेक्षेत्रबाट खोजपुर गाउँ हुँदै बग्ने चापिन नदीमा पनि यस वर्ष पानी सुकेको बताए। नदीमा असार र साउन महिनामा प्रत्येक वर्ष बाढी आउने गरेको भए पनि यस वर्ष सुक्खा बालुवा नै देखिएको छ। यस नदीमा पानी नभएका कारण पनि गाईभैँसीलाई पानी खुवाउनका लागि कुवाबाट पानी ल्याएर खुवाउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरे।
उनले भने, ‘नदी, चापाकल र डिप बोरिङ सबै सुकेपछि खडक नगरपालिकाभरि अन्य वडामा पनि पानीको अभाव देखिएको छ।’ खडक नगरपालिका, ८, ३, १, २ र ४ मा पनि पानीको समस्या देखिएको छ। राजगढ गाउँपालिका र सुरुङ्गा नगरपालिका, बोदेवरसाइन नगरपालिका, शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिकालगायत अधिकांश पालिकामा खानेपानीको अभाव देखिएको छ।
लामो समयदेखि वर्षा नहुँदा जिल्लाको खाँडो नदी, जिता नदी, महुली खोला, बलान खोलालगायत आधा दर्जन महत्वपूर्ण नदी अहिले सुक्खा अवस्थामा छन्। जिल्ला प्रशासन कार्यालयले अभाव भएको गाउँमा खानेपानी वितरण सुरु गरेको छ। जिल्लाको सुरुङ्गा नगरपालिका–१० थलहा र सिसुवा, राजगढ गाउँपालिका–३ नर्घो, रुपनी गाउँपालिका–१ र २ पिपराही, विष्णुपुर गाउँपालिका–३ सिमरहा, अग्नि साइरकृष्ण संवरण गाउँपालिका–३ मटिगढी र राजगढ गाउँपालिका–१ मा खानेपानी अभाव भएको ठाउँमा प्रदेश सरकारले पानी पुर्याइरहेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले पनि राजविराजको बरख गण, भलुवाही ब्यारेकको दुईवटा ट्याङ्करमार्फत खानेपानी वितरण थालेको छ। रासस
प्रकाशित: ११ श्रावण २०८२ १६:२८ आइतबार