ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ केन्द्रमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोपमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्माले इन्कारी बयान दिएकी छिन्।
पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएपछि घटनाका सम्बन्धमा प्रहरीले डा. शर्मासँग बयान लिएको थियो।
गत बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा लिइएको बयानमा उनले आफ्नो यसमा कुनैपनि संलग्न नरहेको बताएकी हुन्। उनले कानुन विपरीतको काम नगरेको दाबी गरिन्।
बयान सकिएपछि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि उनलाई छाडिएको थियो।
यसअघि डा. शर्मालाई पक्राउ गर्न दुई पटक अनुमती माग्दा समेत अनुमति दिइएको थिएन।
यसै प्रकरणमा प्रहरीले लमजुङ घर भई ललितपुरको इमाडोलमा बस्दै आएकी २१ वर्षीया राधिका गोतामेलाई पनि पक्राउ गरेको थियो। उनलाई पनि सरकारी वकिल कार्यालयको निर्देशनअनुसार प्रहरीले हाजिरी जमानीमा रिहा गरिएको थियो ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा गोतामेको मोबाइलबाट डा. नूतन शर्मा र पीडितबीच भएको आर्थिक कारोबारसम्बन्धी विवरण फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा गत डिसेम्बर २०२५ मा डा शर्माले मोबाइल बैंकिङमार्फत गोतामेलाई दुई पटक गरी ५०।५० हजार रुपैयाँ पठाएको देखिएको थियो।
पीडित किशोरीका अनुसार उनलाई आफ्नै साथीले 'डिम्ब निकाल्दा केही हुँदैन, पैसा पनि पाइन्छ’ भन्दै प्रलोभनमा पारेकी थिइन्। त्यसपछि उनलाई राधिका गोतामेको सम्पर्कमा पुर्याइएको र गोतामेमार्फत बीएण्डबी अस्पतालको आईभीएफ केन्द्रमा लगिएको उनले प्रहरीसमक्ष बयान दिएकी थिइन्।
प्रकाशित: २४ श्रावण २०८३ १६:०६ आइतबार