चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औँ सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सत्याग्रहको तेस्रो दिनमा आइपुग्दा केसी शारीरिक रूपमा शिथिल बनेका छन् ।
‘सुगर घटेको रहेछ, अब बोल्न पनि गाह्रो हुन थाल्यो,’ पानी मात्र पिएर आमरण अनसन बसिरहेका डा. केसीले दुखेसो पोखे । स्वास्थ्यमा लगातार जटिलता देखिन थालेपछि उनलाई अहिले थप उपचारका लागि इलाम अस्पतालतर्फ लगिएको छ। यसअघि हिजो साँझ स्वास्थ्य जाँचका लागि अस्पतालको टोली पुगे पनि त्यसयता नियमित अनुगमन हुन सकेको थिएन।
इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. अमिताभ ठाकुरले डा. केसीको टोलीबाट पछिल्लो स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी नआएको बताए ।
प्रकाशित: १४ कार्तिक २०८३ २०:१३ शनिबार