समाज

डा.गोविन्द केसीलाई काठमाडौं लगिँदै

इलाम अस्पतालमा सत्याग्रहमा रहेका डा.गोविन्द केसी। तस्बिरः भीम/नागरिक

इलाममा सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य नाजुक हुँदै गएपछि उनलाई काठमाडौं लगिने भएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत् उनलाई केहीबेरपछि काठमाडौं लैजाने तयारी भएको सिडिओ लक्ष्मण ढकालले बताए।

डा.केसीको स्वास्थ्यका समस्या देखिएपछि उनी बिहीबार साँझदेखि इलाम अस्पतालमा छन्। चिकित्सकका अनुसार डा.केसीलाई सुविधासम्पन्न अस्तालमा उपचार गर्नुपर्ने देखिएकाले काठमाडौं रेफर गरिएको हो। इलाम अस्पतालका डा.अभिताभ ठाकुरले डा.केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुनसक्ने बताए। डा.ठाकुरका अनुसार डा.केसीको रगतमा ग्लुकोजको मात्रा निकै कम देखिएको छ भने पिसाबमा एसियटोनको मात्रा बढेको छ।  

‘हामीले उहाँ (डा.केसी)लाई ग्लुकोज दिन खोजिरहेका छौं तर उहाँले मान्नुभएन,’ डा.ठाकुरले भने, ‘यो अवस्था निकै जोखिमपूर्ण हो, ग्लुकोज नदिए उहाँलाई निकै गाह्रो हुनेछ। हामीले माथिल्लो तहमा समेत यसबारे जानकारी दिइसकेका छौं।’  

डा.केसीले चिकित्सा क्षेत्र सुधारका ६ बुँदै माग राख्दै इलामकै नारायणस्थान मन्दिर परिसरमा बिहीबार साँझ आफ्नो २५औं सत्याग्रह थालेका थिए। ‘अस्पताल ल्याएदेखि नै डा.केसीको अवस्था निरन्तर बिग्रिरहेको छ,’ डा.ठाकुरले भने।  

सिडिओ ढकालले डा.केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट इलामका लागि उडिसकेको पनि बताए।

प्रकाशित: १६ कार्तिक २०८३ ०८:३६ सोमबार