वीरगन्जको मुख्य सडक विस्तारका क्रममा शुक्रबार सडक डिभिजन कार्यालय हेटौंडाले पुनः डोजर चलाएको छ।
सडकको बीच भागदेखि दायाँ–बायाँ २५/२५ मिटरभित्र पर्ने भौतिक संरचना हटाउन सडक विभागले वीरगन्जको गण्डक क्षेत्रमा डोजर चलाएको हो।
सडक विस्तारका क्रममा घर भत्काइएर पीडित बनेकाहरूले शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर वीरगन्जमा १५/१५ मिटर सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए।
सडक विभागले वीरगन्जको मुख्य सडकलाई २५/२५ मिटरमा विस्तार गर्दा सिंगो वीरगन्ज नै उजाडिने भन्दै पीडितहरूले दुखेसो व्यक्त गरेका थिए। उनीहरूको गुनासो सुनेपछि सभापति लामिछानेले यस विषयमा तत्काल सम्बन्धित मन्त्रीसँग छलफल गरी समस्याको उचित निकास निकाल्ने आश्वासन दिएका थिए।
रवि लामिछानेले दिएको आश्वासनको २४ घण्टा नबित्दै पुनः डोजर चलाइएको हो। सडक डिभिजन कार्यालय हेटौंडाले गण्डक क्षेत्रबाट सडक सीमाभित्र रहेका संरचनाहरू पूर्ण रूपमा हटाउन शुक्रबारदेखि पुनः डोजर चलाएको सडक विभागका इन्जिनियर दुर्गाप्रसादले बताएका छन्।
पीडितहरूका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौंडा बजार क्षेत्रमा अदालतले सडकको सीमा २५/२५ गज कायम गर्ने निर्णय गरेको छ। तर वीरगन्जको सन्दर्भमा भने २५/२५ मिटर कायम गरिएकाले आफूहरूमाथि ठूलो अन्याय भएको उनीहरूको दाबी छ।
प्रकाशित: १९ असार २०८३ १६:२२ शुक्रबार



