डोटीको पहाडी भेगमा एउटा सामान्य घर छ। हरेक दिन बिहान घामको किरण ढोकासम्म आइपुग्छ र फर्कन्छ, तर त्यहाँको एउटा आशा भने बाँचिरहेको छ। ४० वर्षीया ओझा नारू ढोकैअगाडि उभिएर बाटो हेरिरहन्छिन्। लामो समयदेखि आफूले पर्खिएको मान्छे कतै टुप्लुक्कै आइपुग्छ कि भनेर?
२१ वर्षअघि साउनको कुरा हो। हात समाउँदै उनका पतिले भनेका थिए, ‘दसैंमा फर्किन्छु, सानु। चिन्ता नलिनू। छोरी जन्मिएकी छन्, अब खर्च पनि बढ्यो । भारतमा अलिकति पैसा कमाएर छिटै आउँछु।’
त्यतिबेला ओझाकी छोरी जन्मिएको एक महिना मात्र भएको थियो। महिना दिनकी छोरी छाडेर उनका पति भारत लाग्दै थिए। बच्चाको मुहार मुसारेर बिदेसिँदा दुवै पतिपत्नीका आँखा रसाएका थिए। पत्नी र छोरीलाई हेर्दै आँगनबाट ओझेल परेका ओझाका पति अझै फर्किएका छैनन्। २१ वर्षअघि कमाउन भनेर निस्किएका पति घर नफर्कंदा उनका आँखा भने अझै ओभानै छन्।
४० वर्ष पुगिसकेकी उनी आज पनि पतिले छाडेर गएको घरमै बसेकी छन्, जहाँबाट उनका श्रीमान् बिदा भएका थिए, त्यतिबेला ओझा २० वर्षकी थिइन्। आँगनमा एक महिनाकी छोरी आकाशलाई नियालिरहेकी थिइन्।
खान–लाउन कमाउन भारततिर जानुपर्छ भन्ने कुरा ओझालाई पनि थाहा थियो। गाउँका प्रायः सबै भारतमा काम गर्न जाने गर्थे। अरूजस्तै उनले पनि माया, भरोसा र भविष्य समातेर पतिलाई बिदाइ दिएकी थिइन्।
ओझाको स्वर अहिले पनि एउटा कुरा गर्दा काँपेको छ। ‘उहाँले माया धेरै गर्नुहुन्थ्यो। एकअर्कालाई मन पराएरै हाम्रो विवाह भएको हो। उहाँको बोल्ने शैली नै मायालु थियो । भारत जान बिदा भएको दिन पनि हाँसेर ‘छिटै आउँछु’ भन्नुभा’थ्यो, तर त्यसपछि कुनै खबर आएन’, मलिनो स्वरमा उनले नागरिकसँग भनिन्।
उनका पतिलाई खोजतलास गर्ने कोही थिएन। नेपालकै छिमेकी मुलुक भारत आप्रवासी श्रमिकहरूकै भीडमा उनका पति नामविहीन भएर हराएका थिए ।
उनी भन्छिन्, ‘म पढेलेखेकी छैन। कहाँ जाने, कसलाई सोध्ने? सरकारले न खोजिदियो न त भारतले नै।’ ओझासँग पतिको एउटा मात्र पहिचान खुल्ने तस्बिर छ। त्यो हो– उनीहरूको पुरानो विवाहको फोटो।
धुलो पुछेर उनी भित्तामा टाँसिएको त्यो फोटो हेर्छिन्। ‘एकोहोरो फोटो हेरिरह्यो भने एक्कासि आँखाबाट आँसु आउँछ। पुरानो सम्झनाले सताउन थाल्छ। त्यो भित्तामा टाँसिएको फोटोसँग कुराकानी गर्न मन लाग्छ, तपाईं यो संसारमा हुनुहुन्छ भने छिटै घर आउनुस्, मलाई यो संसार भार भइसक्यो’, फोटो हेर्दै गुनगान गरेको सम्झनाले भुतुक्क हुँदै उनी भन्छिन्।
महिना दिनकी छोरी छाडेर पति बिदेसिएपछि ओझा आफैंले घरव्यवहार सम्हाल्दै आएकी थिइन्। आफ्नो मनमा लागेको पिरको भारी केही हदसम्म छोरीले नै बोकेको ओझा बताउँछिन्। ‘छोरीकै मायाले घर सम्हालेर बसें। छोरी छाडेर कहीं जान सकिनँ, नत्र म कहाँ टिक्थें र? अहिले त छोरीको बिहे भइसक्यो। छोरी घर गएको दिनदेखि झन् एक्लै भएको छु’, माया गर्ने मान्छे कोही नभएको भन्दै मलिनो स्वरमा उनले भनिन्, ‘एक्लै छु। अरू कसले माया गर्ने हो र? बुढा फर्किएनन्, छोरी पनि पराई घर गइन् । केही बस्तुभाउ छन्। त्यसैमा रमाएकी छु।’
यति लामो समयसम्म पनि घर नआएकोमा पति यो धर्तीमै छैनन् कि भन्ने सोच्न उनी बाध्य हुन्छिन् । ‘कहिलेकाहीं यस्तो लाग्छ, उहाँ यस संसारमा हुनुहुन्न जस्तो। भएको भए पक्कै घर फर्कनुपर्ने हो। किनकि हाम्रो माया गाढा थियो। छोरी जन्मिएपछि झन् उहाँ धेरै खुसी हुनुहुन्थ्यो। घरै नआउनुपर्ने त्यस्तो केही कारण थिएन’, उनी भन्छिन्, ‘हराएकामध्ये केही मान्छे ४० वर्षपछि फर्किएर आएको सुन्छु। त्यो सुन्दा उहाँ पनि आउनुहुन्छ झैं लाग्छ । अलि–अलि आशा त अझै छ।’ अहिले ओझा एक्लै छिन् । न पति, न परिवार, न त सरकारको कुनै सहायता।
ओझाका पति अहिले ४६ वर्षआसपास भइसकेको हुनुपर्छ। यो कथा ओझाको मात्र होइन, भारत जाने हजारौं नेपाली श्रमिकको अधुरो इतिहास छ। हराउने धेरै छन्, तर खोज्ने कोही छैनन् । न त राज्यले खोजतलास गरेको छ, न घरका दैलोमा आवाज आएको छ। २१ वर्षअघिको बिदाइ गरेको उनका सपना आज पनि अधुरै छ।
ओझाका कथा सुदूरपश्चिमका जिल्लाका थुप्रै घरसँग जोडिन्छ। त्यसरी बिदेसिएर घर फर्कन नसकेकाहरू धेरै छन्।
त्यसैगरी डोटीकै विश्न भाटका परिवार सबै भारतमा काम गर्दै आइरहेका छन्। विश्नका सासू–ससुरा, जेठाजु-देवर सबै भारतमै काम गर्थे। परिवारले दशौं वर्षदेखि भारतमै पसिना चुहाइरहेको उनले बताइन्। भारतमै काम गर्ने सिलसिलामा तीन वर्षअघि देवरको मृत्यु भएको उनले नागरिकसँग सुनाइन्।
घरबाट निस्कँदा उनका देवर किशोर मात्र थिए, तर कमाउन भारत पुगेका १८ वर्षीय देवरको मृत्यु भएको खबरले आफूलाई विक्षिप्त बनाएको उनले बताइन्। देवर कमाउन भारत जाँदै गरेको उनी सम्झन्छिन्, ‘देवरका हातमा झोला थियो। घरबाट हाँसेर बिदा भएका थिए। छोरीलाई असाध्यै माया गर्नुहुन्थ्यो। चकलेट ल्याइदिन्छु भन्दै जानुभा’थ्यो, तर कहिल्यै फर्कनुभएन। त्यहाँ गएको १६ दिनभन्दा धेरै बाँच्नुभएन।’
काम गर्ने क्रममा पानीमा डुबेर देवरको मृत्यु भएको विश्नले बताइन्। ‘देवरको मृत्यु भएपछि घरमा एकपटक सबै फर्किए। पछि काम गर्ने भनेर सासू, ससुरा, जेठाजु सबै भारततिर लागे’, उनले भनिन्।
भारत जाने निर्णय उनीहरूका लागि रोजाइ थिएन, बाँच्नका लागि बाध्यता थियो। त्यसरी परिवारको भारतमा मृत्यु हुँदा पनि नेपाल सरकारलगायत त्यहाँको सरकारले पनि केही नगरेको उनको गुनासो छ।
आप्रवासी अधिकारमा काम गर्ने संघसंस्थाहरूले वर्षौंदेखि एउटै गुनासो दोहो¥याइरहेका छन्। भारतमा रहेका नेपाली श्रमिकको अभिलेख छैन। खोजी संयन्त्र छैन। सरकारको प्रतिबद्धता अझै कागजमै छ।
नेपाल–भारत खुला सिमाना, अभिलेखविहीन श्रम र बेपत्ता हुनेहरूको लामो सूची भएको आप्रवासीसम्बन्धी काम गर्ने संघसस्थाले बताउँदै आएका छन्।
निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडैका अनुसार भारतमा नेपाली श्रमिकको संख्या कम छैन। तीमध्ये केहीको फोन लाग्न छाड्छ। केही हराएका छन्। केहीको त त्यहीं नै अन्त्य हुन्छ अनि दुःख पाउने पीडित र घरमा प्रतीक्षा गर्नेबाहेक अरू केही बाँकी रहँदैन।
नेपाल सरकारले यो नेपाल–भारत खुला सीमा र निजी रोजगारीको विषय हो भन्दै पन्छिने गरेको छ। उता भारत सरकारले पनि औपचारिक प्रक्रियाको अभाव देखाउँदै जवाफ टार्ने गरेको उनले बताए।
‘भारतमा कामका लागि निस्किएका श्रमिकको बिचमै मृत्यु हुन्छ। कति नेपाली भारतमा हराएका छन्। कमाएर ल्याउने सपना बोकेर निस्कनेहरू घर फर्किएका छैनन्, तर यसको खोजतलास गर्ने कोही हुँदैन’, उनले नागरिकसँग भने।
उनका अनुसार भारत–नेपालको खुला सिमाना, व्यवस्थित अभिलेखको अभाव र खोजी संयन्त्र कमजोर छ। न नेपाल सरकारले यो पीडाको तथ्यांक पत्ता लगाउन सकेको छ, न त भारत सरकारले त्यहाँ हराइरहेका श्रमिकहरू फिर्ता गर्ने सुनिश्चित गरेको छ।
प्रकाशित: १० मंसिर २०८२ १०:२५ बुधबार