समाज

पाँच करोड खर्चेर जनता क्याम्पसमा छात्रावास बनाइँदै

इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा छात्रावास निर्माण हुने भएको छ।  झण्डै पाँच करोड खर्चेर निर्माण हुनलागेको छात्रावासको शनिबार सिलान्यास गरिएको हो।  

संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत बजेट छुट्याएर पहिलो किस्तामा एक करोड ४२ लाख रुपैयाँ निकासा भएसँगै सिलान्यास गरेर काम सुरुवात गरिएको हो।  

छात्रावास भवनको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले सिलान्यास गरे। क्याम्पसले विद्यार्थीहरुको शैक्षिक अभिवृद्दि गर्ने विभिन्न योजना ल्याउने क्रममा छात्रावास पनि एउटा महत्वपूर्ण पक्षको रुपमा लिएको अध्यक्ष केसीले बताए ।

छात्रावासका लागि बहुवर्षीय योजना अन्तर्गत अहिले पहिलो चरणमा छात्र र छात्राका लागि अलग अलग एक तले भवनमा १४–१४ वटा कोठा निर्माण हुनेछन्। निर्माणका लागि चारुमति कन्ट्रक्सन प्रालि वानेश्वर काठमाडौंले ठेक्का पाएको छ। ठेकेदार जीवन तिम्सिनाका अनुसार अहिले पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र पुरा गर्ने सहमति भएको छ।  

छात्राबास तीन तल्लाको हुनेछ। छात्राबास निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला र मधेश प्रदेशबाट आउने छात्रालाई डेरा बस्नुपर्ने बाध्यता अन्त्य हुने क्याम्पस सञ्चालक समिति शैक्षिक अनुगमन तथा सुपरिवेक्षण समितिका संयोजक  शिवराज दाहालले बताए।  

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ। कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ। यहाँ छ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। 

प्रकाशित: १४ चैत्र २०८२ १४:४२ शनिबार