कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सेवा दिन सुरु गरेको छ। पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई/दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य परीक्षण घरमै गएर गर्न थालेको हो।
सेवाअन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य परीक्षण, रोग पहिचान, उपचार तथा परामर्श, आवश्यक औषधिहरू निःशुल्क वितरणजस्ता काम गर्न थालेका टीकापुर नगरपालिका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताए। उनका अनुसार घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पालिकाका स्वास्थ्यकर्मीले हरेक महिना चार दिन समुदायमा घरघरमै सेवा दिने कार्यतालिका बनाइएको छ।
‘घरमा पुगेर दीर्घ रोग, उच्च रक्तचाप तथा मधुमेहलगायतको जाँच तथा अनुगमन गर्न थालिएको छ,’ जनस्वास्थ्य निरीक्षक सार्कीले भने, ‘पोषण, सरसफाइ तथा जीवनशैलीसम्बन्धी परामर्शसमेत दिन थालिएको छ।’
सेवा पाएपछि ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरू खुसी भएका छन्। वडा नं २ विजयनगरका ज्येष्ठ नागरिक मासुलाल चौधरीले स्वास्थ्यकर्मी घरमै आएर सेवा दिँदा खुसी लागेको बताए। ‘उच्च रक्तचापको समस्या भएको म अस्पताल नियमित औषधि लिन जान नसक्दा बीचमा औषधि छोडेको थिएँ, स्वास्थ्यकर्मी आएर घरमै उपलब्ध गराएपछि अब नियमित खान्छु,’ उनले भने, ‘हामी शारीरिक रूपमा कमजोर छौँ, त्यसैमाथि दीर्घरोगले थलिएका छौँ। हामीलाई अस्पतालमा लाइनमा बस्नुपर्दा गाह्रो हुन्छ। घरमै सेवा पाउँदा सहज हुन्छ।’
अर्का ज्येष्ठ नागरिक पुनसराम चौधरी क्षयरोगका बिरामी हुन्। उनले नियमित क्षयरोगको औषधि खाइरहेका छन्। घरमै गएर स्वास्थ्य परीक्षण गराएको र खानपान, रहनसहनबारे परामर्श सेवा पाएको उनले बताए।
स्वास्थ्यकर्मी लक्ष्मी नारायण पोख्रेलले घरदैलोमै स्वास्थ्य सेवा दिँदा बिरामीको समय र खर्च बचत भएको, घरमै सेवा पाउँदा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूले सुरक्षित र सम्मानित महसुस गरेको बताए। ‘दीर्घरोगीलाई नियमित जाँच, औषधि र परामर्श चाहिन्छ,’ उनले भने, ‘घरमै गएर सेवा दिँदा उनीहरूको स्याहारमा पारिवारिक सहयोग वृद्धि हुन्छ।
हामीले सरसफाइ र हेरचाह गर्ने तरिकाबारे पनि परामर्श दिने गरेका छौँ।’ घरदैलो सेवालाई कार्यविधि बनाएर नियमित सञ्चालन गर्ने पालिकाको योजना रहेको छ।
प्रकाशित: २१ चैत्र २०८२ ०९:५६ शनिबार