यही असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्ष हुन सक्ने भन्दै रातको समयमा यात्रा नगर्न सरकारका अधिकारीहरूले अनुरोध गरेका छन्।
नेपाल जल तथा मौसम विज्ञान विभागले सोमबार मौसमसम्बन्धी विशेष बुलेटिन निकाल्दै उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।
त्यसैगरी कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
विभागका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपासमा छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ र यसको प्रभावले बुधबारदेखि नै कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
बुलेटिनमा उल्लेख गरेअनुसार उक्त अवधिमा भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी अपाउन अनुरोध गरिएको छ।
राष्ट्रिय विपद न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले सोमबार साँझ विज्ञप्ति निकाल्दै उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। साथै सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीन वटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन तथा जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायत साधन तयारी अवस्थामा राख्न अनुरोध गरेको छ।
साथै सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले पूर्वसूचना/चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आकस्मिक बाढी आउन सक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला/नदीकिनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुन प्राधिकरणले अनुरोध गरेको छ।
प्रकाशित: ६ आश्विन २०८३ ०७:४५ मंगलबार