समाज

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

फाइल तस्बिर

यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा शव पहिचानका लागि उनीहरुका आफन्तको ‘डिएनए’ नमुना सङ्कलन भइरहेको छ। ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमुना सङ्कलन गर्ने कार्य एकीकृत रुपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उनले बताए।

बाढीमा परी ज्यान गुमाएकामध्ये एक सय दुई शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका ७६ शवलाई जमिनमुनि व्यवस्थापन गरिएको थियो। यस्तै २१ शव पहिचान गरी आफन्तलाई बुझाइएको थियो भने पाँच शव अझै पनि अस्पतालमा रहेको जनाइएको छ।  

बाँकी रहेका शव पनि पहिचान गर्न कठिनाई भएका कारण व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए। जमिनमुनि व्यवस्थापन गरिएका शवको ‘डिएनए’ नमुना सङ्कलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको ‘डिएनए’ नमुना सङ्कलन भइरहेको छ।

शवबाट सङ्कलन गरिएको ‘डिएनए’ नमुना राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ। आफन्तको ‘डिएनए’सँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरीे शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

बाढीपछि त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको थियो। नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो। रासस

प्रकाशित: २६ भाद्र २०८३ १२:४१ शुक्रबार