समाज

चितवनमा पाँच दिनमा ६८ जनाको डीएनए नमुना संकलन

भोटेकोशी बाढीपछि पहिचान खुल्न नसकेका शवहरूको सनाखतका लागि चितवनमा सञ्चालन गरिएको डीएनए नमुना सङ्कलन अभियान अन्तर्गत पाँच दिनमा ६८ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिचान गर्न नसकिने अवस्थाका शवको सनाखतका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। प्रहरीले सार्वजनिक गरिएको विवरणअनुसार भदौ १६ गते ७ जना पुरुषको नमुना सङ्कलन गरिएको थियो।

भदौ १७ गते २ महिला, २२ पुरुष र २ भारतीय पुरुष गरी २६ जनाको नमुना सङ्कलन गरिएको थियो। त्यस्तै भदौ १८ गते ४ महिला, १४ पुरुष, १ बालक तथा ३ भारतीय पुरुष गरी २२ जनाको नमुना सङ्कलन गरिएको छ।

शुक्रबार १ महिला, ४ पुरुष र १ भारतीय पुरुष गरी ७ जनाको नमुना सङ्कलन भएको छ। आज (शनिबार) २ महिला, १ पुरुष र ३ बालक गरी ६ जनाको नमुना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी चन्द्रभुषण यादवले जानकारी दिए।

चितवन प्रहरीले बाढीमा बेपत्ता भएका आफन्तको पहिचानका लागि डीएनए नमुना संकलनलाई निरन्तरता दिइएको जनाएको छ।

चितवनमा सङ्कलन गरिएको नमुना विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तरगतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारको शाखा भैरहवामा पठाउने गरिएको छ।

प्रकाशित: २० भाद्र २०८३ २१:३२ शनिबार