समाज

विपदबाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

यस वर्षको मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको उत्पादन, प्रसारण र निर्माण प्रक्रियामा गम्भीर असर पारेको छ। कालीगण्डकी र म्याग्दी नदीका साथै तिनका सहायक खोलामा आएको बाढी र पहिरोले निर्माण सम्पन्न तथा निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्‍याएको हो।

बाढीपहिरोका कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केहीको विद्युत् उत्पादन र परीक्षण प्रभावित भएको छ। निर्माणाधीन आयोजनामा निर्माण सामग्री ढुवानी र उपकरण परिचालन अवरूद्ध हुँदा कामको गति सुस्त भएको छ। यसले आयोजना सम्पन्न हुने अवधि लम्बिने र निर्माण लागत बढ्ने जोखिमसमेत सिर्जना गरेको छ।

कालीगण्डकी र म्याग्दीखोला बेसिनमा दर्जनौँ आयोजना निर्माण तथा सञ्चालनमा छन् तर प्राकृतिक विपद्का कारण जलविद्युत् क्षेत्रको उत्पादन संरचना र निर्माण प्रक्रियामाथि परेको पछिल्लो असरले ऊर्जा विकासका लागि भौतिक पूर्वाधारको सुरक्षा र विपद् व्यवस्थापन कति महत्त्वपूर्ण छ भन्ने प्रश्न उठाएको छ।

अस्थायी टावरबाट विद्युत् आपूर्ति

कालीगण्डकी नदीको कटानले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनमा क्षति पुर्‍याएको थियो। अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलमा दुईवटा र रातोपानीमा एउटा टावर बगाएको बाढीले धिरच्याङस्थित टावरमा आंशिक क्षति पुर्‍याएको छ। तिप्ल्याङ क्षेत्रको अर्को टावरसमेत नदी कटानको जोखिममा परेको छ।

प्रसारण लाइन अवरुद्ध हुँदा म्याग्दीको उत्तरी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो। नेपाल विद्युत् प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटे क्षेत्रमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेर असोज ३१ गतेदेखि विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको हो।

बाढीबाट क्षतिग्रस्त प्रसारण लाइन र टावरको पुनर्निर्माण प्रक्रिया पनि अघि बढाइएको प्राधिकरणले जनाएको छ। यस प्रसारण लाइनबाट अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका घलेम्दीखोला (पाँच मेगावाट), म्रिस्त्रीखोला (४२ मेगावाट), निलगिरी–१ (३८ मेगावाट), निलगिरी–२ (७१ मेगावाट), रेलेखोला (छ मेगावाट) र मुस्ताङको थापाखोला (१४ मेगावाट) आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ।

दुई आयोजना बन्द, अर्बौंको क्षति

बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा सञ्चालित दुई जलविद्युत् आयोजना प्रभावित भएका छन्। नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा गेग्रान थुपारेपछि छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले बताए।

त्यस्तै, साउन २६ गतेको सुक्खा पहिरोले विद्युत्गृह पुरिएपछि प्रभावित बनेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको बाँधमा असोज दोस्रो साताको बाढीपहिरोले थप क्षति पुर्‍याएको छ। विद्युत्गृह पहिरोमा पुरिँदा एकको मृत्यु र एक घाइते भएका थिए।

विद्युत्गृहका सबै उपकरण पहिरोमा पुरिएका छन्। आयोजनाको पुनर्निर्माणको तयारी भइरहेको प्रर्वद्धक म्याग्दी हाइड्रोपावरका कर्मचारी अनिल तिवारीले बताए। उनका अनुसार विपद्का कारण आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।

कालीगण्डकी बेसीनका आयोजना निर्माण प्रभावित

कालीगण्डकी बेसीनमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको काम पनि एक महिनादेखि प्रभावित भएको छ।

कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठका अनुसार मुस्ताङको घाँसास्थित थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढी र पहिरोले गेग्रान थुपारेपछि निर्माण कार्य प्रभावित भएको हो। आयोजनाले हालै दुईवटा अडिट सुरुङ खन्ने काम सुरु गरेको थियो।

मध्यकालीगण्डकी जलविद्युत् आयोजनाका प्रवर्द्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार कालीगण्डकी नदीको बाढीले बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्क र कार्यशालामा ठूलो क्षति पुर्‍याएको छ।

अन्नपूर्ण गाउँपालिका–३ र ४ को सिमानामा पर्ने सुकेबगरस्थित बाँध निर्माणस्थलमा डाइभर्सन भत्काएर पसेको बाढीले गेग्रान थुपारेको छ। सुरुङको अडिटभित्रसमेत बाढी पसेको छ। अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गा र रातोपानीस्थित आवास भवन भत्किनुका साथै त्यहाँ रहेका सामग्री बगाएको छ।

नौलीबगरस्थित निर्माणाधीन भूमिगत विद्युत्गृहअगाडि रहेको बेनी–जोमसोम–कोरला सडकको मोटरेबल पुलको पोखरेबगरतर्फको पहुँचमार्गसमेत नदीले बगाएको छ। बाढीपहिरोबाट क्षति पुगेपछि निर्माण कार्य रोकिएको सिभिल ठेकेदार रसुवा–मल्टी जेभीका कर्मचारी दिपेन्द्र शर्माले बताए। उनका अनुसार विपद्का कारण आयोजनाको निर्माण अवधि लम्बिने देखिएको छ।

राहुघाटको परीक्षण अवधि लम्बियो

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पुर्‍याएपछि ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि लम्बिएको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको आयोजनाको टेलरेस गेटमा बाढीले क्षति पुर्‍याएको थियो। विद्युत्गृहबाट उत्पादनपछि पानी नदीमा पठाउने संरचनामा क्षति पुग्नुका साथै नदीले धार परिवर्तन गरेर स्विचयार्ड नजिकैसम्म कटान गरेको थियो। टेलरेसबाट विद्युत्गृहभित्र पानी पसेर डुबानसमेत भएको थियो।

असोज पहिलो सातादेखि परीक्षण उत्पादन सुरु गरेको आयोजना बाढीका कारण पूर्णरूपमा बन्द भएको थियो। क्षतिग्रस्त संरचना र उपकरण मर्मत गरी पुनःपरीक्षण भइरहेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। उनका अनुसार हाल २०/२० मेगावाट क्षमताका दुईवटा युनिट आलोपालो सञ्चालन गरेर परीक्षण उत्पादन भइरहेको छ।

बाँध जोड्ने पहुँचमार्ग मर्मत गर्नुका साथै झिँ र दग्नामको सिमानामा रहेको बाँध क्षेत्रमा थुप्रिएको गेग्रान हटाइएको छ। बाढीले राहुघाट आयोजनाको विद्युत्गृह क्षेत्रसँगै बेनी–जोमसोम–कोरला सडकको करिब १५० मिटर भागसमेत कटान गरेको छ। स्विचयार्ड उच्च जोखिममा परेको छ भने आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन र उपकरणसमेत बगाएको छ।

म्याग्दीखोला बेसिनमा ढुवानीको समस्या

म्याग्दीखोला बेसीनमा निर्माणाधीन जलविद्युत् आयोजनाहरू पनि बाढीपहिरोका कारण प्रभावित भएका छन्। घुमाउने (फापरखेत), बालौटे, बाङ्गेपहिरो र इल्पुमा पहिरो तथा शिवरात्रि खोलामा आएको बाढीका कारण निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या भएको अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए।

उनका अनुसार असारयता सिमेन्ट, रड लगायत निर्माण सामग्री तथा उपकरण बोकेका सवारीसाधन आयोजना स्थलसम्म पुग्न सकेका छैनन्। मौजुदा सामग्री र उपकरण परिचालन गरेर कामलाई निरन्तरता दिइए पनि अपेक्षित गतिमा निर्माण अघि बढ्न सकेको छैन।

शिवरात्रि खोलामा पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेको मोटरेबल पुल समयमा सम्पन्न नहुँदा वर्षायाममा सवारीसाधन वारपार गर्न समस्या हुने गरेको छ। म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीका अनुसार खोलामा पानीको सतह बढ्ने र पहुँचमार्गमा पहिरो खस्ने समस्याले निर्माण कार्य प्रभावित भएको छ। सामान बोकेका गाडी डोजरको सहायताले तार्ने र पहिरो पन्छाउँदै सवारीसाधन पार गराउनुपर्ने बाध्यता रहेको उनले बताए।

करिब ६० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको निर्माणमा पनि असर परेको छ। ३७ मेगावाट क्षमताबाट वृद्धि गरी ४६ दशमलव २५ मेगावाट बनाउने प्रक्रियामा रहेको आयोजनाका प्रमुख रमेश सुवेदीले ठाउँठाउँमा सवारीसाधन परिवर्तन गरेर निर्माण सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहेको बताए।

बेनी–दरवाङ र दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत थापाचौर, गौथली र दाचौर भिरमा खसेको पहिरोका कारण निर्माण सामग्री ढुवानी गर्न नसकिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले बताए।

पूर्वाधारको सुरक्षा र विपद् व्यवस्थापन चुनौती

बाढीपहिरोले म्याग्दीका सबै जलविद्युत् आयोजनामा भने क्षति पुर्‍याएको छैन। राहुघाट करिडोरमा राहुघाटबाहेक अन्य आयोजनाको उत्पादन नियमित छ। तुँदी पावर कम्पनीका ८४ मेगावाट क्षमताका अपर राहुघाट र मङ्गले–चिमखोला–राहुघाट आयोजना तथा २२ दशमलव पाँच मेगावाट क्षमताको अपर ठूलोखोला र २३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको उत्पादन नियमित रहेको छ।

पछिल्लो विपद्ले जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह र सुरुङजस्ता मुख्य संरचना मात्र नभई पहुँचमार्ग, प्रसारण लाइन, निर्माण सामग्री भण्डारणस्थल र आवास संरचनासमेत जोखिममा रहेको देखाएको छ।

नदीको धार परिवर्तन, गेग्रान थुप्रिने र पहिरो खस्ने समस्याले आयोजनाको नियमित सञ्चालनदेखि निर्माण कार्यसम्म प्रभावित हुन सक्ने अवस्था छ। जलविद्युत् आयोजना निर्माणमा ठूलो लगानी र लामो समय लाग्ने भएकाले प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणलाई निर्माण योजनाकै अभिन्न अङ्ग बनाउनुपर्ने देखिन्छ।

बाढीपहिरोले उत्पादन अवरुद्ध पार्ने मात्र होइन, निर्माणाधीन आयोजनाको लागत र समय बढाएर समग्र ऊर्जा विकासको लक्ष्यमा समेत असर पुर्‍याउने तथा लगानीमा जोखिम बढाउन सक्छ। नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध, जोखिमयुक्त क्षेत्रमा वैकल्पिक पहुँचमार्ग, प्रसारण लाइनका टावरको संरक्षण र विपद् पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।

म्याग्दीमा जलविद्युत् उत्पादनको सम्भावना र लगानी बढ्दै जाँदा त्यससँग सम्बन्धित पूर्वाधारलाई प्राकृतिक विपद्बाट सुरक्षित बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ।

- सन्तोष गौतम/रासस  

प्रकाशित: ८ मंसिर २०८३ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App