समाज

कोशी प्रदेशमा डिजिटल भुक्तानी सेवा सुरु

क्यूआरबाट शुल्क भुक्तानी गर्दै कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई। तस्बिर: विनोद सुवेदी /नागरिक

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ। शुक्रबार पहिलो पटक प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा सुरु गरिएको हो।  

डिजिटल भुक्तानी सेवाको सुरुवात भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले क्यूआरबाट भुक्तानी गरेर गरे। मन्त्री राईले प्रयोगशालामा स्वास्थ्य जाँचका लागि क्यूआरबाट भुक्तानी गरेर प्रदेशको सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी सेवामार्फत विभिन्न स्वास्थ्य जाँचहरू गराए। प्रदेश मातहतका सबै अस्पतालमा समेत डिजिटल भुक्तानी सेवा सुरु गर्ने मन्त्री राईको भनाइ छ। उनले भने, ‘डिजिटल भुक्तानी सेवा सुशासनको उपज भएकाले प्रदेशका सबै अस्पतालमा केही दिनभित्रै र अन्य सेवाहरूमा पनि क्रमशः डिजिटल भुक्तानीको व्यवस्था गरिनेछ।’  

प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीले डिजिटल भुक्तानीले सेवाग्राही र सेवाप्रदायक कार्यालयका कर्मचारीबिच दूरी कायम हुने र सेवाग्राहीले घर बसेरै सेवा प्राप्त गर्न सक्ने बताए। उनले डिजिटल सेवा सुरु भए पनि स्थायित्व दिन चुनौती रहेको धारणा राखे। उनले कोशी प्रदेशमा राजस्व तिर्न अनलाइनमार्फत तिर्न सकिने व्यवस्था गरे पनि पूर्ण रूपमा उपयोग नभएको बताए। 

कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका प्रमुख प्रकाशचन्द्र कार्कीले प्रदेशमा अनलाइनबाटै ल्याब दर्ता गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए। उनले आर्थिक वर्ष ०८१/८२ मा प्रयोगशालाबाट २३ हजार ६९० जना बिरामीलाई सेवा प्रदान गरिएको बताए। जसमा प्रयोगशालामा आएर प्रत्यक्ष रूपमा २२ हजार ३९० जनाले सेवा प्राप्त गरेका छन्। स्वास्थ्य मन्त्रालयले सुरु गरेको कुरियर सेवामार्फत प्रदेशका विभिन्न जिल्लाका १ हजार ३०० बिरामीले सेवा प्राप्त गरेका छन्। 

प्रकाशित: २३ श्रावण २०८२ १८:११ शुक्रबार