समाज

रामनवमीको अवसरमा देशभरका राम मन्दिरमा भक्तजनको घुइँचो

रामनवमी पर्वका अवसरमा शुक्रबार बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ।  

प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ। यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका– ९ आरुबारीस्थित राम मन्दिर, डिल्लीबजारस्थित राममन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो।  

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ। बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा शुक्रबार दिउँसो विशेष प्रवचन कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिको कार्यालयका कार्यालय सचिव वसन्तबहादुर खड्काले जानकारी दिए।

 त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको इतिहास छ। त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजाआराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।

 आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ। अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए। ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुसी पार्ने नै राजा हुन् भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेका जानकारहरू बताउँछन्। यसैले उनलाई आदर्श राजाका रूपमा स्मरण गरिन्छ।

 रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजाआराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख छ। आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।

 पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेका उनको शासनकाललाई रामराज्यका रूपमा स्मरण गरिन्छ। सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रूपमा मनुष्यलोकमा जन्म लिएका धर्मशास्त्रमा उल्लेख छ। 

प्रकाशित: १३ चैत्र २०८२ १२:५७ शुक्रबार