समाज

उपसचिव तामाङ स्रोत नखुलेको रुपैयाँसहित विराटनगर विमानस्थलबाट पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ६ लाखसहित एक जना उपसचिवलाई प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख (उपसचिव) मिक्मार तामाङलाई विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। गत साउन ३ गते पक्राउ परेका तामाङको बारेमा मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै शुक्रबार मात्र घटना सार्वजनिक गरेको हो।

दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ गत साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा प्रहरीको नियन्त्रणमा परेका हुन्। तामाङले बोकेको कालो झोलाभित्र १ हजार दरका ५१५ थान र ५० दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ फेला परेको एसपी कटवालले बताए। उक्त रकमको वैधानिक स्रोतका बारेमा सन्तोषजनक विवरण पेस गर्न नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको हो।  

विमानस्थलबाट स्रोत नखुलेको रुपैयाँसहित पक्राउ परेका तामाङले सुरुमा आफ्नो परिचय लुकाएको बताउँदै, एसपी कटवालले भने, ‘थप अनुसन्धान र सोधपुछ गर्दै जाँदै उहाँले आफ्नो परिचय दिनु भयो। अनुसन्धान गर्दै जाँदा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख (उपसचिव) रहेको थाहा भयो। बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेपछि आवश्यक अनुसन्धान एवं कारबाहीको प्रक्रिया अघि बढाइएको छ।’

एसपी कटवालले भने, ‘स्रोत नखुलेको सम्पत्ति सम्बन्धी कसुरमा उनीमाथि अनुसन्धान भइरहेको र अनुसन्धान अन्तिम चरणमा पुगेको छ। सम्भव भए आजै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइने छ।’

-यसअघि प्रकाशित समाचारमा भूलबस अर्को तस्बिर पर्न गएकोमा क्षमा चाहान्छौं - सम्पादक

प्रकाशित: ८ श्रावण २०८३ १२:३४ शुक्रबार