चितवनको सौराहामा युवालाई रड प्रहार गर्ने वरिष्ठ हवल्दारमाथि प्रहरीले विभागीय कारबाही अगाडि बढाएको छ। भदौ ९ गते (सोमबार) होटलमा काम गरेर फर्किएका युवालाई मध्यरातमा डर प्रहार गर्ने चित्रसारी चौकीमा कार्यरत जगतबहादुर महतोमाथि प्रहरीले कारबाही अगाडि बढाएको हो।
महतोले मादक पदार्थ सेवन समेत गरेका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द गिरीका अनुसार घटनाको अनुसन्धानका लागि कारबाही अगाडि बढाइएको हो। घाइते युवाको भरतपुरमा उपचार भइरहेको छ।
प्रारम्भिक अनुन्धान अनुसार प्रहरी हवल्दार राति बर्डथे पार्टीमा सौराहा गएका थिए। त्यसपछि झै झगडा हुँदा घट्ना घटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घट्नामा संलग्न रहेको आरोपमा कालिका नगरपालिका–४ का छट्टु चौधारी, निर्मल चौधरी र रत्ननगर नगरपालिका–८ का सुमित चौधरी प्रहरी नियन्त्रणमा रहेका छन्।
घट्नाको ३१ सेकेण्डको भिडियो समेत सार्वजनिक भएको छ। सो भिडियोमा प्रहरी हवल्दार महत्तोले ‘मलाई मार्यो म ढलेँ चाडो आउनु’ भनेर बोलाएका छन्। ‘पहिले महतोलाई तीन जना युवाले कुटपिट गरेको हुन सक्छ। एउटै टोली हुन सक्ने भन्दै प्रहरी महत्तोले निर्दोश युवामाथि रड प्रहार गरेको हुन सक्छ,' प्रहरी स्रोतले भन्यो, 'हवल्दार समेत घाइते छ।’
भिडियोमा घाइते युवा मोटरसाइकल मुनि रत्ताम्य देखिन्छन्। हातमा रड समातेका महतोले फोन मार्फत कसैलाई लिन बोलाएको देखिन्छ। उनी बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित: १३ भाद्र २०८२ १०:४९ शुक्रबार