देशका प्रमुख नदी तथा सहायक नदीहरूमा तत्काल बाढीको जोखिम नरहेको जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत जल विज्ञान तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
महाशाखाले आगामी पाँच दिनको नदीको जलसतह तथा बाढीको पूर्वानुमान सार्वजनिक गर्दै सबै सूचीकृत नदीहरूमा सामान्य घट्दो अवस्था रहने अनुमान गरेको छ।
पूर्वानुमानअनुसार कोशीअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, लिखु, तामाकोशी, सुनकोशी लगायतका नदीमा जलसतह सामान्य घट्दो रहनेछ। त्यस्तै नारायणीअन्तर्गत नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, मादी, बडिगाड र कालीगण्डकी नदीमा पनि जलसतह सामान्य घट्दो रहने अनुमान छ।
कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई नदीमा पनि आगामी दिनमा जलसतह सामान्य घट्दो रहने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले हालको अवस्थाअनुसार बाढीको जोखिम देखिएको उल्लेख नगरे पनि नदी आसपासका क्षेत्रमा मौसम तथा जलसतहसम्बन्धी नियमित सूचना हेर्न आग्रह गरेको छ।
प्रकाशित: १६ आश्विन २०८३ ०८:३० शुक्रबार