समाज

शिलालेखमा कुँदिए यौन हिंसापीडितका माग

माओवादी भूमिगत हुनुअघि पहिलो आक्रमण गरिएको होलेरी चौकीपरिसरमा बनाइएको सहिद स्तम्भमा पतिको नाम खोज्दै गर्दा आँखाबाट आँसु झारेकी ‘कमरेड ८’ ले अलिपरको अर्को स्तम्भमा आफूजस्तै यौन हिंसामा परेका महिलाका मागपत्र र घोषणापत्रमा पीडा लुकेको देखिन्। बीसौं वर्षसम्म मनमा दबिएका पीडा शिलालेखमा कुँदिएको देखेर उनका आँखा अनायासै रसाए।

गोठालो गएकी उनी २०५७ सालमा रोल्पाको एक जंगलमा सुरक्षाकर्मीबाट सामूहिक बलात्कारमा परेकी थिइन्। तीन जनाले बलात्कार गर्दा उनी बेहोस हुन पुगेकी थिइन्। साढे १६ वर्षको उमेरमा बलात्कारमा परेकी उनलाई अर्को वर्ष परिवारले पल्लो गाउँको युवकसँग बिहे गराइदिए। बलात्कारको चोटले पुरुषसँगको सामीप्यता टुटेको ‘कमरेड ८’ ले पतिसँग मुस्किलले औपचारिक सम्बन्ध मात्र निभाउन सकिन्।

निरस सम्बन्धका बिचमा छोरो जन्मिएको एक वर्षपछि पतिको गोली लागेर मृत्यु भयो। यसपछि उनको जीवनमा दुःखका पहाडले थिच्न थाल्यो। २० वर्ष नपुग्दै एकल महिला हुन पुगेकी उनले घर समाजमा आफूलाई स्थापित गराउन मुस्किल पर्‍यो। कुनै पुरुषसँग बोल्नु समाजका लागि अपराध हुन्थ्यो। उमेर पुगेका सासू–ससुराको स्याहारदेखि नाबालक छोराको हेरचाहमा खेल्ने खाने उमेर खर्चेकी ‘कमरेड ८’ मानसिक समस्याबाट पनि गुज्रिइन्।

होलेरीमा रहेको सहिद स्तम्भछेउमा यौन हिंसापीडितका सवाल कवितात्मक शैलीमा शिलालेखमा कुँदेर राखिएको देखेपछि उनले ढुंगाको पनि माया लागेको बताइन्। ‘हाम्रा पीडा ढुंगामा कुँदिएको देखें। आफ्नो सवाल देखेर मनदेखि खुसी भएँ। कसैले नसुनेका कुरा ढुंगाले सुनेछ जस्तो लाग्यो’, कमरेड ८ ले थपिन्, ‘पतिको नाम सहिद स्तम्भमा छ अनि अलिपर न्याय खोज्दै आएका हाम्रा सवाल छन्।’

ग्लोबल सरभाइभर फन्ड स्विट्जरल्यान्डसँगको साझेदारीमा नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रले स्थानीय सरकारसँगको सहकार्यमा रोल्पाका तीन स्थानमा यौन हिंसापीडितको आम भेलाले जारी गरेको घोषणापत्र शिलालेखमा कुँदेर स्मारक तयार गरेका हुन्। होलेरीजस्तैे रोल्पा नगरपालिका-३ सातदोबाटोमा रहेको जनयुद्ध स्मृति भ्युटावर प्रांगणमा र लुङग्री गाउँपालिकाको गुम्चालस्थित सहिदपार्कमा घोषणापत्रलाई शिलालेखमा कुँदेर स्तम्भ तयार गरिएको छ।

यही कार्यक्रम अन्तर्गत रोल्पा, रुकुमपूर्व, दाङ, कैलाली र कञ्चनपुरमा द्वन्द्वका समयमा यौन हिंसामा परेका चार सय ३९ जनाका लागि मानसिक स्वास्थ्यमा मनोविमर्श सेवा र उपचारसँगै अन्तरिम परिपूरणीय उपायअन्तर्गत व्यवसायका लागि प्रतिव्यक्ति एक लाख ८५ हजारका दरले व्यक्तिगत परिपूरण गरिएको छ भने अन्तरिम परिपूरणका उपायअन्तर्गत सामूहिक स्मृतिका लागि सरभाइभरकै सल्लाहमा उनीहरूले नै जारी गरेको घोषणापत्रलाई शिलालेखमा राखी स्तम्भ तयार गरेको हो।

रोल्पालगायत रुकुमका तीन स्थान सिस्ने, महत, पुथा र दाङको बंगलाचुलीमा पनि स्मारक तयार गरिएको छ। गएको वैशाखमा मध्यनेपालको एक स्थानमा करिब ३५० यौन हिंसापीडितको आम भेलाले घोषणापत्रमार्फत दश बुँदे माग अघि सारेका थिए। न्याय भोलि होइन, आजै पाइयोस्, कानुनले तुरुन्तै देखोस्, दोषीलाई सजाय होस्, उपचार र सुरक्षाका लागि चिकित्सक, मनोविमर्शकर्ता र सुरक्षित स्थान उपलब्ध गराइयोस्, शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा परिपूरण दिइयोस्।

सुरक्षा प्रदान गरियोस्, निगरानी र स्वतन्त्र अनुगमन गरियोस् ताकि न्याय नमरोस्, न्याय प्रक्रिया पारदर्शी र प्रभावकारी होस्, हाम्रो पीडामा राज्यले पनि पीडाबोध गरोस्, सम्मानका साथ समाजमा घुलमिल हुने वातावरण तयार पारियोस्, २०६३ को शान्ति सम्झौताको वाचा कार्यान्वयन होस्-राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालनासहित राज्यका नीति तथा कार्यक्रममा हाम्रो आवाज प्रतिबिम्बित होस्, योजना निर्माणदेखि कार्यान्वयन तहसम्म सहभागी गराइयोस्, कानुनी जटिलतामा कसैको पनि आवाज नहराओस्, नि:शुल्क कानुनी सहयोग र न्याय प्रक्रिया उपलब्ध गराइयोस् जस्ता माग उनीहरूले अघि सारेका छन्।

द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनाअन्तर्गत बलात्कार र यौनजन्य हिंसाका सवालमा आजसम्म राज्यका तर्फबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत उजुरी माग गर्नेबाहेक अन्य कुनै काम गरिएको छैन। तथ्यांक र प्रमाण अभाव भन्दै पन्छिँदै आएको सरकारी निकायले पीडितका मनमा परेको चोट अनि उनीहरूले भोगिरहेका मानसिक प्रताडनाको हेक्का राख्न नसक्दा धेरै पीडित मानसिक समस्या बोकेर हिँडिरहेका छन्।

यतिबेला सत्य निरूपण तथा मेलमिलाप आयोगमा पुराना तीन सय १४ र गत वर्ष थपिएका तीन हजार नौ सय १२ गरी चार हजार दुई सय २६ यौन हिंसा प्रभावितका उजुरी न्यायको पर्खाइमा छन्। हिजो सशस्त्र द्वन्द्वमा सहभागी दल सत्तामा रहँदा सम्बोधन हुन नसकेको संक्रमणकालीन न्यायलाई नयाँ सरकारले टुंगोमा पुर्‍याओस् भन्ने माग पीडितहरूको छ।

प्रकाशित: २६ श्रावण २०८३ ११:२४ मंगलबार