समाज

डा केसीको जीवन रक्षा गर्न माग

फाइल तस्बिर

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न नेपाल चिकित्सक संघले सरकारलाई आह्वान गरेको छ। 

बिहीबार संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्वराज दवाडीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन्। 

सरकारले गरेका गलत नियुक्ति सच्याउन र विगतमा भएका सहमति कार्यन्वयन गर्न माग गर्दै डा. केसी सत्याग्रहमा छन्। आठ दिनदेखि सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको संघले जनाएको छ। 

उनको जीवन रक्षाका लागि तत्काल वार्ता गर्ने वातावरण बनाउन र उनले उठाएका जायज माग पूरा गर्न चिकित्सकले संघले माग गरेको छ। ‘डा. केसीको स्वास्थ्यमा जटिल समस्याहरू उत्पन्न भएको हुँदा उहाँको जीवन रक्षाका लागि उहाँसँग अविलम्ब वार्ता गर्ने वातावरण मिलाई उहाँले उठाउनु भएका जायज मागहरू तत्काल सम्बोधन गरी समस्याको समाधान खोज्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

यससँगै डा. केसीको जीवन रक्षाका लागि चाल्नुपर्ने कदमका लागि संघले छलफल गर्ने भएको छ। शुक्रबार दिउँसो १ बजे संघको कार्यालयमा छलफल कार्यक्रम राखिएको विज्ञप्तिमा उल्लेख छ। 

अघिल्लो सत्याग्रहका क्रममा भएको सहमति कार्यान्वयन नगरेको र उल्टै सहमतिविपरीत स्वार्थ बाँझिने गरी स्वास्थ्य संस्थाहरूमा नियुक्ति गरेको भन्दै डा. केसी सत्याग्रहमा बसेका छन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई इलामबाट ल्याएर त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ। 

प्रकाशित: १९ कार्तिक २०८३ १४:३६ बिहीबार