समाज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न माग

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन्।  

सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा उनीहरूले विमानस्थल सञ्चालन गर्न सङ्घीय सरकारसँग आग्रह गरेका हुन्।

समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले अर्बौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले विमानस्थल सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै भगवान् गौतमबुद्धको नामबाट निर्माण भएको विमानस्थल सञ्चालन भए देशमा आर्थिक गतिविधि चलायमान बन्दै जाने विश्वास व्यक्त गरे।  

लुम्बिनीको विकास हुनु भनेको समग्र मुलुकको आर्थिक गतिविधि चलायमान हुनुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनु रहेको उनको भनाइ छ। ‘विमानस्थल नियमित सञ्चालन भए भैरहवाको मात्र विकास हुँदैन, यसले समग्र मुलुकको विकासमा टेवा पुर्‍याउँछ, विमानस्थल सञ्चालन भएपछि पर्यटकको आवागमन बढ्छ’, उनले भने। नगरप्रमुख खाँले विमानस्थल सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताए।

नगर प्रवक्ता मुक्तिनाथ यादवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा यस क्षेत्रका उद्योगी–व्यवसायी धरासायी अवस्थामा पुगेको बताए। उनले विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न वर्तमान सरकारसँग आग्रह गरे। सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्षसमेत रहेका प्रवक्ता यादवले विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारकोतर्फबाट पहल गर्ने बताए।

प्रकाशित: २४ चैत्र २०८२ ०६:२२ मंगलबार