जिल्ला प्रशासन कार्यालय मोरङले राती साँढे १० बजेसम्म मात्रै होटल व्यवसाय सञ्चालन गर्न दिएको निर्देशन अव्यवहारिक भएको भन्दै विराटनगरका होटल व्यवसायी र अधिकारवादी संस्थाले विराटनगर महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।
बुधबार विराटनगरका होटल, रेस्टुरेन्ट तथा बार व्यवसायीहरू र अधिकारवादी संस्था साझा पहल समूहले विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन्।
रात्रिकालीन व्यवसाय सञ्चालनका लागि प्रशासनले तोकेको समय सीमा र प्रहरी प्रशासनको धरपकडप्रति उनीहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।
कार्यवाहक प्रमुखसँगको भेटमा व्यवसायी तथा अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय मोरङले होटल, रेस्टुरेन्ट, गजल, स्पा, क्लब तथा लउन्जजस्ता रात्रिकालीन व्यवसायहरू राति १०ः०० बजेभित्र गेट बन्द गर्नुपर्ने र १०ः३० बजेभित्र ग्राहक बिदा गरिसक्नुपर्ने गरी तोकेको सर्त व्यावहारिक नभएको बताएका छन्।
उनीहरूले चाडपर्वको मुख्य समयमा यस्तो कडा नियम लगाउँदा व्यवसायीलाई ठुलो आर्थिक नोक्सानी हुनुका साथै व्यवसाय गर्ने स्वतन्त्रतामा समेत आघात पुगेको धारणासमेत राखेका थिए।
व्यवसायीहरूले बुझाएको ज्ञापनपत्रमा गत कात्तिक १७ गते राति विराटनगर वडा नं. ३ स्थित ‘फिल गुड एण्ड ग्रिल प्रा.लि.’ मा भएको प्रहरी हस्तक्षेपप्रति रोष व्यक्त गरेका छन्।
व्यवसायीहरूले यस अघि महानगरपालिका र प्रशासनबिच निश्चित समयसम्म व्यवसाय सञ्चालन गर्न दिने समझदारी भए तापनि प्रहरीले बिना कारण र बिना सूचना राति ११ः३० बजे नै प्रवेश गरी सञ्चालक निर्जलकुमार श्रेष्ठसहित दुई जना कर्मचारीलाई पक्राउ गरेर रातभर थुनामा राखेको घटनाले व्यवसायीहरू त्रसित बनेको बताएका थिए।
साझा पहल समूहका संयोजक वसन्त अधिकारीसहित उपस्थित व्यवसायीहरूले रात्रिकालीन व्यवसायलाई सुरक्षित, मर्यादित र भयमुक्त वातावरणमा सञ्चालन गर्न महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने माग गरेका छन्।
अधिकारीले राति १२ः०० बजेसम्म व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र प्रहरीको अनावश्यक धरपकड तुरुन्त बन्द हुनुपर्ने बताए।
ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले व्यवसायीहरूले उठाएका समस्याबारे सम्बन्धित निकायसँग छलफल गरी उचित निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
प्रकाशित: १८ कार्तिक २०८३ १८:१० बुधबार