चितवनको रत्ननगर नगरपालिकास्थित टिकौली चौरमा लोपोन्मुख कृष्णसार ल्याउने तयारी गरेको ६ वर्ष पुग्यो। विसं २०७७ मा अध्ययन सुरु गरेर पूर्वाधार निर्माणको काम सकिए पनि अझै कृष्णसार ल्याउन सकिएको छैन। डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्य वन मन्त्रालयले रूख हटाउन अनुमति नदिँदा कृष्णसार ल्याउन नसकिएको हो।
‘सबै पूर्वाधार निर्माण भएका छन्। रूख हुँदा चितुवा आएर कृष्णसार खाइदिने सम्भावना रह्यो, उनले भने रूख नहटाउँदासम्म कृष्णसार ल्याउनका लागि अनुमति दिन सकिएन।’
चितवनमा बर्दिया र शुक्लाफाँटा निकुञ्जबाट १२ पोथी र ६ भाले गरेर १८ वटा कृष्णसार ल्याइने तयारी गरिएको थियो। कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री गीता चौधरीले समेत आफ्नो पहिलो निर्णयमा कृष्णसार स्थानान्तरण गर्ने विषय उल्लेख गरेकी थिइन्।
आचार्यका अनुसार १२९ वटा रूख काट्नुपर्ने हुन्छ। सालका रूख काट्न मन्त्रीस्तरीय निर्णय चाहिन्छ। यसका लागि वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्राचार गरिएको उनले बताए।
कृष्णसार रत्ननगर नगरपालिकाको वडा नम्बर ९ स्थित बरन्डाभार वन संरक्षण क्षेत्रको टिकौली चौरको १९.८३ हेक्टर वन क्षेत्रमा स्थानान्तरण गर्ने गरी आवश्यक पूर्वाधारको तयारी पूरा भएको छ। यहाँ तारबार, घाँसेमैदान र दुईवटा पोखरी निर्माण भइसकेका छन्। रूख कटानको अनुमतिका लागि राष्ट्रिय निकुञ्ज विभाग, वन विभाग, वन तथा वातावरण मन्त्रालय र बागमती प्रदेश मन्त्रालयमा चैत महिनामा प्रतिवेदन पठाइएको छ।
‘जानीजानी चितुवालाई खुवाउन कृष्णसार ल्याउने कुरा भएन’, उनले भने, ‘त्यसलाई रोक्न रूख काट्नुपर्ने हुन्छ।’ बाघ धेरै जम्मा गर्न नसक्ने भएकाले रूखमार्फत चितुवाभित्र छिर्न सक्ने अनुमान उनको छ। उनले मन्त्रालयबाट फाइल स्वीकृत भएर आउनासाथ रूख कटानको काम थालिने बताए।
कृष्णसारको दीर्घकालीन संरक्षणका लागि भनेर २०६७ देखि २०७१ सालसम्ममा नेपालगन्ज नगरपालिकाको चिडियाखाना, सदर चियाखाना र बर्दियाको कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट दुई चरणमा ४२ वटा कृष्णसार कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा स्थानान्तरण गरिएको थियो। ती बढेर २५६ वटा भएका छन्। बर्दियामा १९६ वटा कृष्णसार छन्। त्यहाँबाट चितवन ल्याइँदै छ। संकटापन्न वन्यजन्तुको सूचीमा रहेको कृष्णसार प्राकृतिकरूपमा नेपाल र उत्तरी भारतमा मात्र पाइन्छ। यो मान्छेसँग घुलमिल हुने बाख्रा प्रजातिको वन्यजन्तु हो। यो मृगजस्तो मान्छे देखेपछि बुर्कुसी मार्ने प्रजाति भने होइन।
यसलाई मध्यनजर गर्दै कृष्णसारको संरक्षण गर्नुपर्ने बताउँछन् चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगर। ‘हामीले कृष्णसारको सुरक्षा हुने गरी बुँदा टिपेर सम्बन्धित निकायमा पठाएका छौं’, उनले भने, ‘चितुवा नियन्त्रणका लागि रूख काट्न सुझाव दिएका छौं। चितवनमा कृष्णसार ल्याउन रत्ननगरका तत्कालीन मेयर नारायण वनले सरोकारवाला निकाय तथा व्यक्तिहरूसँग छलफल थालेका थिए। पर्यटन क्षेत्रमा विकास हुने उद्देश्यले रत्ननगर नगरपालिकाले वन मन्त्रालयलसम्म कुरा राखेपछि अनुमति पनि प्राप्त गर्यो। कृष्णसार राख्नका लागि पूर्वाधार निर्माणमा रत्ननगर नगरपालिकाले करिब पाँच करोड रुपैयाँ बराबरको रकम खर्च गरेको छ।
चितवनमा ल्याइएको वन्यजन्तु अहिलेसम्म सफल भएका छैनन्। कोसी टप्पु वन्यजन्तु आरक्षबाट २०७३ सालमा चितवन ल्याइएका अर्नाहरू पाँच वर्ष पनि टिक्न सकेनन्। चितवन राष्ट्रिय निकुञ्जको ३० हेक्टर क्षेत्रफलमा तारबार गरेर राखिएका अर्ना बढेर २३ वटासम्म पुगेका थिए, तर कहिले बाघ पसेर मारिदिए त कहिले बाढी र रोगव्याधीले मासिए।
२०७४ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सातवटा बाह्रसिंगा स्थानान्तरण गरेर चितवन ल्याइएको थियो। ती सबैको विभिन्न कारणले मरे। अहिले पनि सफल नहुने हो कि भन्ने चिन्ता संरक्षणकर्मीमा रहेको छ।
प्रकाशित: १ भाद्र २०८३ ०८:२३ सोमबार