समाज

वैदेशिक रोजगारीमा गएको दुई महिना नपुग्दै मृत्यु

विदेशमा मृत्यु भएका इलामका लेखनाथ।

वैदेशिक रोजगारीका लागि दुबई पुगेका सूर्योदय नगरपालिका–७, गोगनेका ३५ वर्षे लेखनाथ खतिवडाको उतै मृत्यु भएको छ।

गत जेठ ५ मा विदेश पुगेका खतिवडा दुबईस्थित मिडल इस्टको एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए। उनी असार ८ देखि सिकिस्त बिरामी परेका थिए। सुरुमा सेतो रक्तकोष कमी देखिएपछि अस्पताल भर्ना गरिएका उनलाई पछि निमोनियासमेत देखिएको र अवस्था गम्भीर बन्दै गएपछि इन्सेन्टिभ केयर युनिट (आइसियु)मा उपचार गरिएको थियो। तर, असार २८ मा उपचारकै क्रममा उनको मृत्यु भएको उनकै परिवारका लीलाधर खतिवडाले जानकारी दिए।

उनको उपचारमा लागेको खर्च धेरै भएकाले परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका छन्। ‘लाखौं सहयोग संकलन गरियो। अन्ततः लेखनाथलाई बचाउन सकिएन,’ लीलाधरले भने। दुबईको एआई रोसिड अस्पतालमा मृत्यु भएका खतिवडाको साउन २ गते बिहान ९ बजे स्थानीय शुद्धिखोला (मालुम जाने बाटो)मा दाहसंस्कार गरिने परिवारले जानकारी दिएका छन्।

प्रकाशित: २ श्रावण २०८२ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App