समाज

जयश्री भंगभंगे खोलामा डुबेर बालिकाको मृत्यु

<br>

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–४ स्थित जयश्री भंगभंगे खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ।

सोमबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा गैंडाकोट नगरपालिका–१, नवदुर्गा टोल बस्ने मनिषा थापाकी छोरी ११ वर्षीया सजिना थापा रहेकी छन्।

खोलामा पौडी खेल्ने क्रममा उनी अचानक डुबेर बेपत्ता भएको खबर प्रहरीले प्राप्त गरेको थियो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार बालिका बेपत्ता भएको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो। प्रहरीले घटनाको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०८३ १५:०५ मंगलबार