भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदन दिनका लागि म्याद थप गरेको छ।
विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो। यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गरी आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो। घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने मालपोत ऐन, २०३४ मा भएको व्यवस्थाअनुसार सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबार गर्ने कम्पनीका हकमा कार्यक्षेत्र पनि तोकेको थियो। विभागले पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकालाई कार्यक्षेत्रका रूपमा परिभाषित गरेको थियो।
एक पटकमा रु तीन करोडभन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले आवेदन दिन सकिने प्रबन्ध गरिएको छ। घरजग्गाको व्यवसायलाई पारदर्शी, मर्यादित र वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्न लागिएको जनाइएको छ।
विभागले गत शुक्रबारदेखि लागू हुने गरी आवेदनको म्याद थप गरिएको जनाएको छ। विभागले पहिलो चरणमा छ वटा महानगर र ११ उपमहानगरपालिकामा घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ। यसअघि प्रकाशित सूचनाअनुसार न्यून संख्यामा आवेदन परेकाले म्याद थप गरिएको हो।
विभागका अनुसार गत कात्तिकमा घरजग्गा कारोबारबाट रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको राजस्व संकलन भएको थियो। त्यसैगरी सेवा कर रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिस्ट्रेशन शुल्क रु एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पूँजीगत लाभकर रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ बराबर संकलन भएको थियो। रासस
प्रकाशित: १५ मंसिर २०८२ ०७:१८ सोमबार