‘दसैँ आएको छ, किनमेल पनि त्यति बढ्दै छ व्यापार चम्कँदै छ तर नेपालमा होइन सीमापारि,’ कपिलवस्तुका व्यापारीहरूको पीडा हो यो। दसैँमा लत्ता कपडा, किरानाका सामान लगायतका सामग्री किन्ने गरिन्छ। यो बेला व्यापार बढ्ने गर्दछ। तर कपिलवस्तुका व्यापारी भने दसैँका बेलामा समेत निरास बनेका छन्।
चाडबाड नजिकिँदा ग्राहकहरूले खचाखच हुने तौलिहवाका पसलहरू आजभोलि सुनसान छन्। व्यापारीहरू पसल खोलेर ग्राहक पर्खेर बसिरहेका छन्। ग्राहक भने एक/दुई जना फाट्टफुट्ट रूपमा मात्र आउने गरेका छन्। किनमेलका लागि उपभोक्ताहरू भारतीय बजारमा जाने गरेकाले आफूहरू निरास बनेका उनीहरू बताउँछन्।
तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले भारतीय बजारतर्फ आम उपभोक्ताहरू आकर्षित भएपछि दसैँका बेलामा समेत यहाँका व्यापारी निराश रहेको बताए। भारतले जिएसटी घटाएपछि सरसामान पहिलेभन्दा झन् सस्तो भएपछि नेपाली उपभोक्ताहरूको यी बजारमा ओइरो नै लाग्ने गरेको उनले बताए। सस्तो पाइने भन्दै भारतीय खुनुवा लगायतका बजारमा उपभोक्ताहरू जाने गरेकाले यहाँका व्यापारीहरू मर्कामा परेको उनी बताउँछन्। उनले यस तर्फ सरकारले ध्यान दिन जरुरी रहेको बताए।
सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, जितपुर, पकडी लगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन। दसैँका लागि अत्यावश्यक वस्तुदेखि विलासिताका सामग्रीहरू समेत किन्न नेपालीहरू भारतीय बजारमा निर्भर देखिन्छन्।
सीमापारिका बजारहरूमा पाइने वस्तुहरू नेपाली बजारमा दोब्बर महंगो हुने भएकाले आफूहरू भारतीय बजार तर्फ आर्कषित भएको उपभोक्ताहरूको भनाइ छ। ‘नेपाली बजारमा ६ हजार पर्ने कुर्ता सुरुवाल भारतीय बजारमा २ हजार बढी पर्दैन, दसैँ खर्चिलो छ बचत त गर्नै पर्यो,‘ चन्द्रौटाबाट मंगलबार किनमेलका लागि गएकी गीता नेपालले भनिन्।
खाद्यान्न वस्तुहरू पनि निकै सस्तो भएकाले उपभोक्ताहरू भारतीय बजारमा आर्कषित हुने गरेको उनको भनाइ छ। जिल्लाका प्रत्येक क्षेत्रमा सरकारले सस्तो पसल संचालन गरेमा उपभोक्ता भारतीय बजारमा कम मात्र जाने उभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे बताउँछन्।
पछिल्ला वर्षहरूको तुलनामा अहिले नेपालमै कपडालत्ता तथा जुत्ताचप्पल गुणस्तरीय तथा सस्तो पर्ने भए पनि उपभोक्ताको मानसिकतामा परिर्वतन नआएको नेपाली व्यापारीहरू बताउँछन्। भारतीय बजारभन्दा पनि सस्तोमा लत्ताकपडा दिए पनि उपभोक्ताले गुणस्तरीय नभएको आरोप लगाउने गरेको व्यापारीहरू गुनासो गर्छन्।
भारतीय कपडा आयात गर्दा लाग्ने भन्सार महसुल, कर तथा ढुवानी खर्चका कारण स्वतः नेपालमा कपडा महंगो हुन्छ। कृष्णनगर भन्सार र मर्यादपुर भन्सार कार्यालयका अनुसार विगत एक साताको अवधिभित्र उपभोक्ताहरूले जिल्लाका विभिन्न सीमानाकाबाट कपडा र उपभोग्य वस्तुको आयात बढेको छ।
दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुहरूको भन्सार समेत नतिर्दा राज्यलाई समेत लाखौँ राजस्व घाटा लागेको भन्सार कार्यालयले जनाएको छ। चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेयले भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेको आरोप लगाए।
सानो वस्तु सस्तोमा दिएर अन्य वस्तुहरूमा चर्को मूल्य लिएर नेपाली उपभोक्ता ठगिने गरेको उनले बताए। 'नेपालीहरूको मानसिकता सीमापारि सस्तो सामान पाइने भन्ने छ, त्यसैको फाइदा उठाउँदै व्यापारीहरूले ठग्ने गर्दछन्,’ उनले भने।
नेपाली बजारमा अनुगमन गर्न सक्ने सम्भावना रहे पनि भारतीय बजारमा भने सो गर्न नसकिने हुँदा विगतका दिन सम्झेर भारतीय बजारमा किनमेल गर्न जानु मुर्खता रहेको उनी बताउँछन्।
प्रकाशित: ११ आश्विन २०८२ १६:४१ शनिबार