समाज

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका अनुसार यहाँ सहकारीमार्फत किसानलाई मल बिक्रीवितरण भइरहेको भए पनि डिएपी मल अभाव छ।

कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक हेमराज जोशीले यहाँबाट ४५० मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन रसायनिक मल युरिया बिक्री वितरण भइसकेको जानकारी दिए।

‘हामीसित मौज्दात मल यहाँका १५० सहकारीमार्फत किसानसम्म वितरण गरिरहेका छौँ’, उनले भने, ‘कञ्चनपुरका लागि हरेक वर्ष गहुँ र धानखेतीका लागि १०–१० हजार मेट्रिक टन डिएपी र युरिया मल आवश्यक पर्छ।’

कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी प्रतिबोरा रु दुई हजार ३९४ र युरिया रु ९४४ मा बिक्री गरिरहेको जनाएको छ। ‘हामीले जिल्लाभरि डिलरसिप लिएका सहकारीमार्फत नै भएको मल वितरण गर्दैछौँ’, उनले भने, ‘मल अभाव हुने विषय देशव्यापी समस्या हो। त्यसमा पनि सुदूरपश्चिमको कोटा कम छ।’

उनले वार्षिक करिब ४०० मेट्रिक टन मल अभाव हुने गरेको बताए। खुला सीमानाका कारण कञ्चनपुरका विभिन्न स्थानमा भारतबाट समेत फाटफुट रूपमा मल आयात हुने गरेको छ।

प्रकाशित: २ असार २०८३ १३:५३ मंगलबार