समाज

बलात्कृत हुनेमा दलित महिला - बालिका बढी

गत साता सुर्खेत गुर्भाकोट नगरपालिका– ६ की १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको भन्दै देशभर न्यायको पक्षमा प्रदर्शन भइरहेको छ। विक गत फागुन २३ गते बिहान वीरेन्द्रनगर सहिद पार्कनजिकको सामदुायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। प्रहरीले अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

घटना विवरणअनुसार विकलाई पोस्टमार्टम रिपोर्ट र पीडकको बयानका आधारमा इनिसाको बलात्कारपछि हत्या भएको प्रहरी निष्कर्षमा पुगेको छ। गुर्भाकोट -६ बडाखोली स्थायी घर भएकी इनिसा वीरेन्द्रनगरमा परिवारसँग बसेर पढ्दै आएकी थिइन्। गत शनिबार बिहान ६ बजे ट्युसन जान्छु भनेर हिँडेकी अनिसा ९ बजे सहिदपार्क जंगलमा नग्न अवस्थामा भेटिएकी थिइन्।

आठ बजेसम्म छोरी नफर्किएपछि आमाले फोन गर्दा अफ थियो। त्यसपछि प्रहरीले फोन गरी परिवारलाई जानकारी गराएको थियो। पोस्टमार्टम रिपोर्टपछि अनिसाको बलात्कारपछि हत्या भएको पुष्टिसँगै प्रहरीले अनुसन्धानका लागि चारजनालाई पक्राउ गरेको छ। विकको परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै न्यायको माग गरिरहेका छन्। बलात्कारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन भइरहेको छ।

सामूहिक बलात्कारपछि हत्या हुने दलित बालिका धेरै

बलात्कारपछि हत्या हुनेमा विक पहिलो किशोरी हैनन्। २०८० माघ २७ मा सिराहाको नवराजपुर– १ की १७ वर्षीया रिंकुकुमारी सदाको पनि सामूहिक बलात्कारपछि हत्या भएको थियो। सौचालय हिँंडेकी रिंकुको स्थानीय तीनजना युवकले सामूहिक बलात्कार गरेका थिए।

सामूहिक बलात्कार भएकी पिंकीलाई स्थानीय पञ्चायतले रकम क्षतिपूर्ति दिएर मुद्दा मिलाउन खोज्दा नमानेपछि उनको हत्या गरिएको थियो।

२०७७ सालमा रुपन्देही देवदहकी १३ वर्षीया बालिका अंगिरा पासीलाई जबर्जस्ती करणीपछि रुपन्देही देवदहका २५ वर्षीय वीरेन्द्र भर र उनकी आमाले कुटपिट गरेका थिए। कुटपिटपछि उनको मृत्यु भएको थियो।

२०७६ असार १२ गते कैलाली गौैरीगंगा नगरपालिका -११ की माया विकको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो। घरबाट कार्यालय हिँडेकी विकको शव पनि तीन दिनपछि चपगली सामुदायिक वनमा फेला परेको थियो। उनलाई पाँचजनाले सामूहिक बलात्कार गरी हत्या गरेका थिए।

उल्लिखित प्रतिनिधि घटनाबाहेक नेपालमा दलित महिला तथा बालिका बढी मात्रामा बलात्कृत हुने र यौन हिंसा हुने गरेको विभिन्न अध्ययन तथा प्रतिवेदनले औंल्याएको छ।

दलित महिला संघले सन् २०२५ मा सार्वजनिक गरेको ‘नेपालमा लैंगिक तथा जातीय आधारमा हुने महिला तथा बालिकामाथिको हिंसां’ विषयक अध्ययन प्रतिवेदन २०८१/८२ को तथ्यांकअनुसार यो अवधिमा दुई हजार दुई सय दुईजना बालिका हिंसामा परेका थिए, त्यसमध्ये दोस्रो नम्बरमा दलित बालिका पर्छन्। बलात्कार घटनामध्येमा दुई सय ३८ जना दलित बालिका रहेका छन्। यो संख्या कुल बालिका बलात्कारको १९.३ प्रतिशत हो। बाँकी २६ जना बालिकामाथि बलात्कार प्रयास भएको र दुईजनालाई मानव बेचबिखन गरी बलात्कार गरिएको घटना छ।

इन्सेकको २०८०/८१ को तथ्यांकअनुसार पाँच हजार आठ सय ८६ वटा घटनामध्येमा चार हजार आठ सय ३८ महिला हिंसासम्बन्धी छन्। तीमध्ये चार सय ६८ वटा बलात्कार प्रयासका छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालभरमा दुई हजार पाँच सय सातवटा बलात्कारसम्बन्धी उजुरी परेका छन् भने चार सय ६० बलात्कार प्रयाससम्बन्धी उजुरी परेका छन्। प्रहरीको पछिल्लो तथ्यांक हेर्दा जातिगत विवरणसहितको भिन्न तथ्यांक विश्लेषण उपलब्ध छैन।

कमजोर स्थिति नै बलात्कारीलाई सहज पहुँच

नेपालमा दलित महिला तथा बालबालिकामाथि अन्यको तुलनामा बढी बलात्कारजन्य हिंसा हुनुको पछाडि दलित समुदायको विद्यमान आर्थिक तथा सामाजिक अवस्था मुख्य कारण रहेको दलित महिला संघकी अध्यक्ष कला स्वर्णकार बताउँछिन्। ‘जातीय विभेद, उनीहरूमा निहित जुन गरिबी समस्या छ, यो स्थितिले दलित महिला बलात्कारको तारो बन्छन्’, उनले भनिन्।

उनका विचारमा बलात्कारमा सहभागी हुने लक्षित समूहमा दलित महिला तथा बालबालिका देखिन्छन्। सामूहिक बलात्कारपछि हत्या हुनेमा धेरैजसो दलित महिला नै छन्। दलित समुदायलाई तल्लो दर्जामा हेरिने सामाजिक चिन्तन हाबी भएकाले बलात्कारजन्य घटना दलित महिला तथा किशोरीमाथि नै बढी हुने गरेको पाइएको छ।

गरिबी, सामाजिक रूपमा कमजोर देखिएकै कारण दलित किशोरीलाई बलात्कार गरेमा कसैले केही गर्दैन भन्ने सोच आएरै बलात्कारीहरू बलात्कारजन्य अपराध गर्छन्।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली दलित महिलामाथि बलात्कारको संख्या धेरै रहेको बताउँछिन्। त्यसमा पनि दलित बालिकाको संख्या धेरै छ । दलित तथा सीमान्तकृत समुदायमा विद्यमान आर्थिक एवं सामाजिक स्थितिकै कारण अपराधले स्थान पाएको अध्यक्ष पराजुलीको ठम्याइ छ। ‘हिंसा शक्तिशालीले कमजोर र निमुखालाई गर्ने प्रवृत्ति हो। दलित समुदायलाई निमुखा देखेरै दलित बालिका तथा महिलामाथि बलात्कार बढी हुने गरेको देखिन्छ’, उनले भनिन्।

उनका विचारमा बलात्कारीले जहिले पनि परिवारमा संरक्षण नपाएका र परिवारको कमजोर अवस्था आकलन गरी बलात्कार गर्ने गरेको देखिन्छ।

कसले के गर्ने?

दलित समुदायका महिला तथा बालिकामाथि हुने बलात्कार अन्त्यका लागि सरकारले सक्रियताका साथ अभियान थाल्नुपर्ने अध्यक्षको सुझाव छ। यसका लागि विद्यालयस्तरबाटै सचेतना आवश्यक देखिन्छ। ‘बलात्कारीलाई कानुनले मात्र केही गर्दैन, विद्यालय र स्थानीय तहबाट कडाइपूर्वक सचेतना अभियान चलाउनुपर्छ’, उनले भनिन्।

दलित महिला संघकी अध्यक्ष स्वर्णकारले बालिकालाई घरभित्रै सुरक्षाका विषयमा चेतना दिनुपर्ने बताइन्। ‘घरबाहिर कस्तासँग कुन बेला संगत गर्ने भन्ने विषयमा पनि अभिभावकले सानैबाट बुझाउनुपर्छ’, उनले भनिन्।

प्रकाशित: २ चैत्र २०८२ ०९:५२ सोमबार