समाज

दैलेख बजार अब ‘फ्री वाइफाइ जोन’

दैलेख सदरमुकाममा आउने सर्वसाधारण, विद्यार्थी, सेवाग्राही तथा स्थानीय बासिन्दाका लागि अब इन्टरनेट पहुँच थप सहज बनेको छ। नारायण नगरपालिका–१ ले सूचना तथा सञ्चार प्रविधिलाई नागरिकको दैनिक जीवनसँग जोड्ने उद्देश्यसहित सदरमुकामका विभिन्न सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो।

गत सातादेखि विभिन्न चोकहरूमा औपचारिक रूपमा सुरु गरिएको यो सेवा वडा कार्यालयको लगानीमा सञ्चालनमा आएसँगै स्थानीयवासी लाभान्वित भएका छन्। दैलेख सदरमुकामस्थित वडा नम्बर १ कार्यालयको करिब १ लाख ३० हजार रुपैयाँ लागतमा जडान गरिएको निःशुल्क इन्टरनेट सेवा बढी आवतजावत हुने चार स्थान—देवकोटा चोक, लोकतान्त्रिक चोक (पुरानो बजार), गणेश चोक तथा भगवती टोल (पुरानो बजार) मा उपलब्ध गराइएको छ।

वडा अध्यक्ष शैलेश श्रेष्ठका अनुसार नागरिकलाई सूचना प्रविधिसँग जोड्ने, डिजिटल पहुँच विस्तार गर्ने तथा सार्वजनिक सेवा सहज बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो।

“आजको समय सूचना प्रविधिको युग हो। इन्टरनेट अब विलासिता होइन, दैनिक आवश्यकता बनिसकेको छ,” वडा अध्यक्ष श्रेष्ठले भने, “सदरमुकाममा विभिन्न कामले आउने नागरिक, विद्यार्थी र यात्रुले सहज रूपमा सूचना लिन, अनलाइन सेवा प्रयोग गर्न तथा आफन्तसँग सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा सुरु गरेका हौं।”

पछिल्लो समय सरकारी सेवा, शिक्षा, बैंकिङ कारोबारदेखि प्रशासनिक प्रक्रिया समेत क्रमशः डिजिटल माध्यममा आधारित बन्दै गइरहेका बेला सार्वजनिक स्थानमा उपलब्ध यस्तो सेवा नागरिकका लागि थप उपयोगी हुने पुरानो बजारकी स्थानीय सविना विकले बताइन्।

वडा कार्यालयले आगामी दिनमा सेवाको प्रभावकारिता मूल्याङ्कन गर्दै आवश्यकताअनुसार अन्य सार्वजनिक स्थानमा समेत निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ। सदरमुकाममा सुरु भएको यो पहलले अब विद्यार्थीदेखि व्यवसायी, कर्मचारीदेखि सेवाग्राहीसम्म सबैलाई डिजिटल दुनियाँसँग थप नजिक बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २८ जेष्ठ २०८३ १५:०० बिहीबार