समाज

दैलेख दुर्घटना : एक जनाको मृत्यु, चार बेपत्ताको पहिचान

अझै भेटिएन गाडी

दैलेखमा बिहीबार भएको गाडी दुर्घटनामा बेपत्ता भएका चार जनाको पहिचान खुलेको छ। बेपत्ता हुनेहरूमा कालीकोटको पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा, रास्कोट नगरपालिका–२ की सृजना खड्का तथा सुर्खेतको पञ्चपुरी नगरपालिकाका चालक रामु सुवेदी र सहचालक तुलाराम सुवेदी रहेका छन्।

घटनास्थल पुगेका कालीकोटको रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीका अनुसार बेपत्ता चारै जनाको परिचय खुलेको हो।

यसैगरी दुर्घटनामा ज्यान गुमाउनेमा कालीकोटको पचालझरना गाउँपालिका–९ का ३५ वर्षीय जोखे तिरुवा रहेका छन्। प्रहरीका अनुसार भीरमा अचेत अवस्थामा फेला परेका तिरुवालाई उपचारका लागि दैलेखस्थित दुल्लू अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको जनाएको छ।

कर्णाली राजमार्गअन्तर्गत दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी भने हालसम्म फेला पर्न सकेको छैन। सुरक्षा निकायले खोजी कार्य जारी राखेको जनाएको छ।

दुर्घटनामा कति यात्रु सवार थिए भन्ने कुरामा प्रशासन र प्रहरी नै अन्योलमा छन्। यद्यपि तीन पुरुष एक महिला गरी चार यात्रु, एक चालक र एक सहचालक गरी ६ जना गाडीमा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित: १९ असार २०८३ १६:०५ शुक्रबार