रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजी गर्दै काठमाडौंका अस्पतालमा आफन्तहरूको भीड बढेको छ। बिहीबार टिचिङ अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आफन्तहरू आफ्ना परिवारका सदस्यको अवस्था बुझ्न र घाइतेको सूची खोज्दै भौतारिइरहेका भेटिए।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१, २ र ३ का राजु शेर्पा, स्याङ्बु लामा, गुजत लामा लगायतका आफन्त बुधबार बिहानदेखि सम्पर्कविहीन भएपछि उनीहरूका परिवारजन अस्पताल पुगेका हुन्।
बुधबार बिहान करिब ७:३० बजेदेखि सम्पर्कविहीन रहेका आफन्तको खोजी गरिदिन सरकारसँग परिवारले आग्रह गरेका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद हुँदा आफन्तको अवस्था पत्ता लगाउन कठिन भएको उनीहरूको गुनासो छ।
बहिनी सुरक्षित, ज्वाइँको अत्तोपत्तो छैन
कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी अन्जना दमाई बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा आफन्तको खोजीमा भौतारिइरहेकी थिइन्। उनका बहिनी ज्वाइँ बाजुराका बान्चा नेपाली रसुवामा बेपत्ता भएका छन् भने उनीसँगै गएकी बहिनी सुरक्षित रहेको समाचारमार्फत थाहा पाएपछि अन्जनामा केही आशा पलाएको छ।
दुवै जना रसुवामा भन्सार क्षेत्रमा सामान ओसारपसार गरी आम्दानी गर्न गएका थिए।
“बहिनी चीनमा सुरक्षित रहेको समाचारमा देखें, तर ज्वाइँको अझै कुनै खबर छैन,” अन्जनाले भनिन्।
ज्वाइँ सम्पर्कविहीन भएपछि उनको अवस्था बुझ्न अन्जना ट्रमा सेन्टर पुगेकी हुन्। बान्चाका दुई छोराछोरी भने काठमाडौंमा दिदी सासुको संरक्षणमा छन्। पत्नी सकुशल रहेको जानकारी पाए पनि श्रीमान्को अवस्था थाहा नहुँदा परिवार चिन्तित छ।
‘दसैँसम्म कमाएर फर्किन्छु’ भनेका राजकुमार बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे निवासी राजकुमार श्रेष्ठ पनि बुधबारदेखि सम्पर्कविहीन छन्। आफन्तका अनुसार उनी बुधबार रसुवाको केरुङ नाका पुगेपछि परिवारसँग फोनमा सम्पर्कमा आएका थिए।
सामान ओसारपसार गरेर आम्दानी गर्ने उद्देश्यले रसुवा पुगेका श्रेष्ठले दसैँसम्म कमाएर घर फर्किने बताएका थिए। तर त्यसपछि उनको परिवारसँग सम्पर्क हुन सकेको छैन।
श्रेष्ठको खोजीका लागि उनका भिनाजु भोटु सदा बिहीबार राष्ट्रिय ट्रमा सेन्टर पुगेका थिए।

अस्पतालमा घाइतेको सूची खोज्दै आफन्त
बाढीपहिरोमा परी घाइते भएका व्यक्तिको उपचार भइरहेको अस्पतालमा समेत आफन्तहरू आफ्ना मान्छेको खोजीमा पुगेका छन्। अस्पतालमा खटिएका सुरक्षाकर्मीले उपचाररत घाइतेको नाम सार्वजनिक गर्ने तथा बेपत्ता व्यक्तिका आफन्तबाट प्राप्त विवरण संकलन गरी सूची तयार पार्ने काम गरिरहेका छन्।
यसले अस्पताल पुगेका आफन्तलाई आफ्नो परिवारका सदस्य उपचाररत छन् कि छैनन् भन्ने जानकारी लिन केही सहज भएको छ। तर धेरै बेपत्ताको अवस्था अझै अज्ञात रहेकाले अस्पतालमा पुग्ने आफन्तको संख्या बढिरहेको छ।
बाह्रबिसेका मात्रै ६३ जना सम्पर्कविहीन
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका करिब ६३ जना सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ। उनीहरूमध्ये चालक, व्यापारी तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका व्यक्ति छन्।
नगरपालिकाका उपप्रमुखका अनुसार प्रारम्भमा निजी हेलिकोप्टरमार्फत उद्धारमा जाने तयारी गरिएको भए पनि उद्धारलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने सरकारको निर्णयपछि सरकारी उद्धारको पर्खाइमा बस्नुपरेको छ।
बेपत्ता व्यक्तिको लामो सूची
बाह्रबिसे क्षेत्रबाट सम्पर्कविहीन भनिएका व्यक्तिहरूमा सोना तामाङ, राजकुमार लामा, डोल्मा शेर्पा, पासाङ, रेशम थापा, सुविन्द्र, सन्तोष खड्का, बालकृष्ण राउत, आशिष श्रेष्ठ, पदम कार्की, एलिसा तामाङ, राजन श्रेष्ठ, जंगे श्रेष्ठ, विश्वबन्धु श्रेष्ठ, शम्भु बस्नेत, विजय वाइवा, प्रकाश बस्नेत, राजकुमार श्रेष्ठ, राजेश श्रेष्ठ, दिनेश अछामी, गोपाल बस्नेत, रामबहादुर, राम श्रेष्ठ गाती, टेकबहादुर गाती, ईश्वर श्रेष्ठ बेसरी, चन्द्रचाल शाक्य गाती, श्रीकृष्ण गाती, युवराज सेवामान्द्रा, मिमलाल तामाङ सोताङ, तिलक प्रधान, खेलबहादुर थापा, चित्रबहादुर देउजा, राजु थापा, रामबहादुर थापा प्रधान, मिथुन थापा, शिव देउजा र खड्गबहादुर प्रधान लगायत रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएकाले बेपत्ताको यकिन संख्या अझै स्पष्ट हुन सकेको छैन। परिवारहरू भने अस्पतालको ढोकादेखि सरकारी उद्धार केन्द्रसम्म आफ्ना आफन्तको कुनै खबर आउने आशामा पर्खिरहेका छन्।
उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी कार्य जारी राखेकाले सम्पर्कमा नआएका व्यक्तिको अवस्था चाँडै पत्ता लाग्ने आशामा परिवारहरू छन्।
प्रकाशित: ११ भाद्र २०८३ २१:४२ बिहीबार