समाज

पर्यटन विभागका तत्कालीन निर्देशक यादवविरुद्ध ९६ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका तत्कालीन निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यादवले ९६ लाख ८५ हजार रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारको अनुसन्धानअनुसार, यादवले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०६६ सालदेखि २०७९ सालसम्मको १३ वर्षे अवधिमा उनको कुल वैधानिक आय २ करोड ६८ लाख रुपैयाँ रहेको थियो। तर, सोही अवधिमा उनको खर्च तथा लगानी भने ३ करोड ६५ लाख रुपैयाँभन्दा बढी देखिएको छ। आय र व्ययबीच तादात्म्य नमिलेको ९६ लाख ८५ हजार ५५३ रुपैयाँको स्रोत पुष्टि हुन नसकेको अख्तियारको ठहर छ।

यादवले आफ्नो तलब, भत्ता, घरबहाल, परामर्श सेवा, जग्गा बिक्री, ऋण लगायतका स्रोतबाट आयआर्जन गरेको देखाए पनि घरजग्गा खरिद, घर निर्माण, शेयर लगानी र बैंक मौज्दातमा गरेको खर्च उनको वैधानिक आयभन्दा निकै बढी भएको अनुसन्धानमा खुलेको हो।

अख्तियारले यादवमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ। साथै, सम्पत्ति विवरण लुकाएकोमा समेत छुट्टै कारबाहीको माग गरिएको छ।

यादवले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्नी पत्नी आशा कुमारी यादवको नाममा राखेको पाइएकाले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

प्रकाशित: २९ श्रावण २०८२ १५:५३ बिहीबार