समाज

पूर्वसांसद् सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

नेपाली कांग्रेसका पूर्वसांसद् सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। 

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुखसमेत रहेका विघटित प्रतिनिधिसभा सदस्य चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा तीन करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो। उनी काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन्।  

सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक सम्पत्ति जोडेको दाबी अख्तियारको छ । 

प्रतिनिधि सभाको अर्थ समिति सभापति पनि रहेका चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयर रहँदा (२०७४ जेठ ८ देखि २०७९ असार ३२ सम्म) लाई आधार मानेर अख्तियारले अनुसन्धान गरेको थियो। सोक्रममा ४ करोड ८८ लाख ३५ हजार ८ सय ३३ रुपैयाँको मात्र आयस्रोत देखिएको अख्तियारको दाबी छ। 

घर निर्माण, आन्तरिक सजावट, जग्गा खरिद, सेयर खरिद, कर्जा भुक्तानी, जीवन बिमा र विभिन्न कम्पनीमा लगानी गर्दा उनले ८ करोड ५६ लाख ८३ हजार ५ सय ९५ रुपैयाँ खर्च गरेको पाइएको अख्तियारद्वारा दायर मुद्दामा उल्लेख छ। कुल आय र खर्च तथा लगानीबीच ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बढी देखिएकाले पदमा रहँदा चालिसेले भ्रष्टाचार गरेको ठहर अख्तियारको छ। 

आरोपपत्रमा अख्तियारले सोही रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको माग गरिएको छ।

प्रकाशित: २८ मंसिर २०८२ १७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App